बाढी पहिरो अपडेटः काभ्रेमा १० जनाको मृत्यु, २८ जना वेपत्ता, ७० भन्दा बढीलाई उद्धार

नौलो समाचार संवाददाता
२०८१ आश्विन १२, शनिबार मा प्रकाशित १६७ पटक पढिएको
बाढी पहिरो अपडेटः काभ्रेमा १० जनाको मृत्यु, २८ जना वेपत्ता, ७० भन्दा बढीलाई उद्धार
तस्वीर : सामाजिक सञ्जालबाट

बनेपा / अविरल बर्षापछिको बाढी र पहिरोको कारण हालसम्म काभ्रेमा १० जनाले ज्यान गुमाएका छन् ।

विभिन्न स्थानमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको यकिन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, २८ जना बेपत्ता भएका छन् । १६ जना घाइते भएका छन् भने बाढी र पहिरोमा फसेका ७० भन्दा बढीलाई उद्धार गरिएको छ ।

तेमाल गाउँपालिका वडा नं २ स्थित डडेनपाखामा दुई घर पहिरोले पुरेको छ । घर भित्र ९ जना रहेको जानकारी प्राप्त भएपनि मौसमका कारण अझै उद्धार हुन सकेको छैन ।

प्रहरी चौकी खोपासीका अनुसार, पनौती नगरपालिका वडा नं ११, थुम्कीमा स्थानीयको घर पुरिँदा ४ जना वेपत्ता भएका छन् ।

जिल्लामा खोला, नदीका तटीय क्षेत्र डुबानमा परेका छन् भने वी.पी राजमार्गका केही सडक खण्ड रोशी खोलाले बगाएको छ । अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरोको कारण सडक अवरुद्ध भएका छन् ।

वी.पी राजमार्ग अवरुद्ध भएपछि अलपत्र भएकालाई उद्धारको लागि गएको नेपाली सेनाको हेलिकप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । स्थानीय शान्ती बुद्ध प्रावि लगायतका स्थानमा आश्रयमा रहेकालाई गाउँपालिकाले खाद्यान उपलव्ध गराएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

सुरक्षा र सतकर्ता अपनाउन जिल्ला विपद व्यवस्थापन समितिले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस