बाढी पहिरोका घाइतेको अवस्था बुझ्न धुलिखेल अस्पताल पुगे बागमतिका मुख्यमन्त्री लामा

नौलो समाचार संवाददाता
२०८१ आश्विन १४, सोमबार मा प्रकाशित १८७ पटक पढिएको
बाढी पहिरोका घाइतेको अवस्था बुझ्न धुलिखेल अस्पताल पुगे बागमतिका मुख्यमन्त्री लामा

धुलिखेल / बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बाढी पहिरोमा घाइते भइ धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् ।

बागमती प्रदेशका स्वास्थमन्त्री किरण थापा, उद्योग, वाणिज्य, भुमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङ, पुर्वमन्त्री तिर्थ लामा, रत्न ढकाल, कन्चनचन्द्र वादे, सुरेश श्रेष्ठलाई साथमा लिएर सोमबार अस्पताल आएका मुख्यमन्त्री लामाले घाइते र आफन्त भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएकामध्ये २७ जना धुलिखेल अस्पतालमा उपचाररत छन् । १ जना भेन्टिलेटरमा र १ जनालाई सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजु, क्लिनिकल निर्देशक डा. रामबहादुर गुरुङ, मेडिकल निर्देशक डा. बलराम मल्ल,जनस्वास्थ कार्यालय काभ्रेका प्रमुख रागेश्वरी कक्षपति श्रेष्ठ, धुलिखेल अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठ लगायत  उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी लगायतले धुलिखेल अस्पतालले निशुल्क उपचार सहित खाने बस्ने व्यवस्था समेत गरेको जानकारी गराएका थिए ।

 प्रतिनिधि सभा सदस्य सुर्यमान दोङ, प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तान, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्यान्जु श्रेष्ठ, बनेपा नगरप्रमुख शान्तीरत्न शाक्य, धुलिखेल नगर उपप्रमुख निराजन जङगम सहितको टोलि अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका हुन् ।

मुख्यमन्त्री लामाले घाइतेको उपचारमा तदारुकता दिदै मृतकलाई राहत उपलब्ध गराउने विषयमा छिट्टै निर्णय गर्ने बताए ।  क्षतिग्रस्त सडक सुचारू गर्न तत्काल काम गर्ने भन्दै उनले घरवार व्यवस्थापनको लागि पनि सरकारले काम गर्ने बताए ।

मुख्यमन्त्री लामा लगायतले काभ्रेमा भइरहेको हवाई उद्धारबारे जानकारि लिएका थिए ।

प्रतिक्रिया दिनुहोस