बाढी र पहिरोले बढी क्षति गरेको पनौती नगरपालिकामा यसरी हुँदैछ ‘राहत र पुनर्स्थापना’

नौलो समाचार संवाददाता
२०८१ आश्विन १६, बुधबार मा प्रकाशित ४२९ पटक पढिएको
बाढी र पहिरोले बढी क्षति गरेको पनौती नगरपालिकामा यसरी हुँदैछ ‘राहत र पुनर्स्थापना’
तस्वीर : पनौती नगर प्रमुखको सचिवालयको फेसबुकबाट

पनौती / अविरल बर्षापछिको बाढी र पहिरोका कारण बढ मानवीय र भौतिक क्षति भएको पनौती नगरपालिकाले विपद पछिको ‘राहत र पुनर्स्थापना’को लागि विभिन्न निर्णय र कदम चालेको छ ।

बाढी र पहिरोमा परी २० जनाको मृत्यु र २५ जना गम्भीर घाईते भएको पनौतीमा २ हजार भन्दा बढी साना र ठूला पशु चौपाया मरेका छन् । रोशी खोलाको तटीय क्षेत्रमा रहेका करिब ५ सय घर बगाएका छन् भने करिब २ सय घरमा आंशिक क्षति छ । अधिकाशं बाटो क्षति हुँदा दूध तथा तरकारी ढुवानी हुन नसक्दा कृषक प्रत्यक्ष मारमा परेका छन् ।

 

‘बाढी र पहिरोको बढी क्षति पनौती नगरपालिकामा परेको छ,’ नगर प्रमुख रामशरण भण्डारीले भने, ‘त्यसको व्यवस्थापनको लागि नीतिगत निर्णय गर्दै आवश्यक कदम चालिएको छ, नगरपालिकाले प्रदेश र संघ सरकारका साथै अन्य सहयोगी निकाय, संघसस्था समेतको संलग्नतामा विपदपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा काम गर्छौ ।’ उनका अनुसार, समपुरक कोष, शसर्त अनुदान, विशेष अनुदान, गत वर्ष शुरू भएका कार्य र वहुवर्षीय योजनाहरु मात्र संचालन गर्ने र यस वर्ष विनियोजित योजनाहरु हाललाइ स्थगन गरी राहत र क्षति भएका क्षेत्रको निर्माणमा लाग्ने निर्णय भएको छ । प्रति मृतक परिवारलाइ तत्काल २५ हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

नगरपालिकाले तत्कालको लागि विभिन्न संघसंस्था, व्यक्तिको सहयोगमा संकलित राहतबाट प्रति परिवार २ थान त्रिपाल, २५ केजी चामल १ बोरा, ३ पिस साबुन, १ लिटर तेल प्रदान गरेको छ । नीजि र नगरको साझेदारीमा मोटर बाटो पुनर्निर्माण गरिदै आएको, क्षतिग्रस्त विद्युत पोल पुननिर्माण गरी विद्युत आपुर्ति सुचारु, खानेपानीका लागि क्षति भएका क्षेत्रहरुमा पाइप वितरण गर्नुका साथै तत्कालका लागि ट्यांकरबाट समेत पानी वितरण गरिएको छ । राहत कोषको स्थापना गरेको नगरपालिकाले राहतको लागि सवैसँग आव्हान समेत गरेको छ ।

काभ्रे उपत्यका एकिकृत खानेपानीको मुख्य पाईप लाइन मध्ये पनौती क्षेत्रको करिब ७ किलोमिटर पूर्णरुपमा बगाएको छ भने नगरपालिकाका अन्य अधिकांश स्थानमा खानेपानीको मुहान र प्रशारण पाइपलाइनमा क्षेती पुगेर खानेपानीको अभाव भएको नगरपालिकाले जनाएको छ ।

रोशी करिडोरको ११ किलोमिटर सडक पुर्ण रुपमा क्षति भएको छ भने अन्य स्थानमा समेतसडक सम्पर्क विच्छेद भई दैनिक जीवनयापनमा समेत समस्या भएको छ । पनौती क्षेत्रका ७ वटा पक्की पुल र १ झोलुगें पुल पुर्ण क्षती भएको, ३ वटा स्वास्थ्य चौकी र २० वटा विद्यालयमा क्षति भएको नगरपालिकाले जनाएको छ ।

पुरातात्विक क्षेत्रका मठ मन्दिरमा ठुलो क्षति भएकाले खोला किनारबाट २ दशमलव ५ किलोमिटर क्षेत्रमा तत्काल टेवापर्खाल निर्माण गरि स्मारक क्षेत्र जोगाउन जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस