विपद र चाडपर्व लक्षित गर्दै बनेपा र पनौतीमा बजार अनुगमन

नौलो समाचार संवाददाता
२०८१ आश्विन १८, शुक्रबार मा प्रकाशित १३३ पटक पढिएको
विपद र चाडपर्व लक्षित गर्दै बनेपा र पनौतीमा बजार अनुगमन

बनेपा / बाढी र पहिरोको कारण सिर्जित विपद र दशैं लगायतका चाडपर्वमा हुन सक्ने कालोबजारी, मुल्य वृद्धि र कृतिम अभाव नियन्त्रण गर्न बनेपा र पनौतीमा संयुक्त बजार अनुगमन गरिएको छ ।

जिल्ला बजार अनुगमन समितिले शुक्रवार बनेपा र पनौतीका खाद्य तथा किरानाको होलसेल तथा खुद्रा पसल, मिनिमार्ट, होटल, मासु पसल, फलफुल, जिरा, धनियालगायतका मसलाजन्य सामाग्रीका पसलमा अनुगमन गरेको समितिका सदस्य सचिव समेत रहेका उद्योग वाणिज्य कार्यालय काभ्रेका प्रमुख सिताराम घिमिरेले जानकारी दिए ।

अनुगमनको क्रममा १९ हजार ५ सय ४३ मुल्य बराबरको म्याद गुज्रेका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको समितिका सदस्य रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलका खाद्य निरिक्षक पूर्ण प्रसाद पौडेलले जानकारी दिए ।

उद्योग वाणिज्य कार्यालय काभ्रेका प्रमुख सिताराम घिमिरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलक खाद्य निरिक्षक पूर्ण प्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय काभ्रेका नकुल गिरी, जिल्ला समन्वय समिति काभ्रेका अर्पण पोखरेल, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, महासचिव रजित पलाञ्चोके, उद्योग वाणिज्य कार्यालय काभ्रेका रविन्द्र चौगालाई, पुण्यवती श्रेष्ठ, सञ्चारकर्मी, प्रहरीसहितको टोलीले बनेपा र पनौतीमा किरानाका होलसेल तथा खुद्रा पसल, मिनिमार्ट, होटल, मासु पसल, फलफुल, जिरा, धनियालगायतका मसलाजन्य सामाग्रीका ४३ पसलमा अनुगमन गरेको थियो ।

उद्योग वाणिज्य कार्यालय प्रमुख घिमिरेले आवश्यकताका आधारमा जुनै पनि बेला अनुगमन हुन सक्ने बताए ।

खाद्य निरिक्षक पौडेलले गुनासो भए तत्काल अनुगमन गर्ने बताए ।

जिल्ला बजार अनुगमन समितिले कम्तीमा महिनाको दुई पटक बजार अनुगमन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस