धुलिखेल अस्पताल आएर स्वास्थ्यमन्त्री पौडेलले बुझे बाढी पहिरोमा घाइतेको अवस्था

नौलो समाचार संवाददाता
२०८१ आश्विन १९, शनिबार मा प्रकाशित १९९ पटक पढिएको
धुलिखेल अस्पताल आएर स्वास्थ्यमन्त्री पौडेलले बुझे बाढी पहिरोमा घाइतेको अवस्था
पहिरोमा परिवारका ८ जना गुमाएका तेमाल वडा नं २ का माइला तामाङसंग कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल ।

धुलिखेल / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बाढी पहिरोमा घाइते भइ धुलिखेल अस्पतालमा उपचाररतहरुको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् ।

शनिवार दिउसो अस्पताल आएका मन्त्री पौडेलले बाढी पहिरोमा परेर धुलिखेल अस्पतालमा उपचाररत घाइते र आफन्त भेटेर उपचार र व्यवस्थापनबारे जानकारी लिएका हुन् ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्मचार्य, डा. राजेन्द्र कोजू लगायतले त्यहाँ उपचाररत घाइतेको अवस्था र अस्पतालले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए ।

मन्त्री पौडेलले घाइतेहरुको अवस्था बुझ्न र उपचार कसरी व्यवस्थित गराउन सकिन्छ भन्ने चासोका साथ अस्पताल आएको बताए । उनले बाढी र पहिरोमा परेर घाइते सबैको उपचार निशुल्क गर्ने सरकारले निर्णय गरेको भन्दै यसबारे प्रचार प्रसार गर्नुपर्ने बताए । विपदपछि हुन सक्ने स्वास्थ्यजन्य महामारीको बारेमा सरकार सचेत भएको भन्दै त्यसको तयारी गर्न निर्देशन समेत दिए । विपदको समयमा धुलिखेल अस्पतालले पुर्याएको सेवाको प्रशंसा गर्दै मन्त्री पौडेलले सबैलाई साथमा लिएर अझै उत्कृष्ट सेवा दिन अनुरोध गरे ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा खानेपानी र मरेका पशुपंक्षीको व्यवस्थापनले जटिलता ल्याउन सक्ने भन्दै त्यसको प्रभावकारी व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्ने बताइन् । काभ्रेका ५ वटा स्वास्थ्य संस्थामा पूर्ण र ५ वटा स्वास्थ्य संस्थामा आंशिक क्षति भएको पनि उनले जानकारी गराइन् ।

डा. विराजका अनुसार, बाढी र पहिरोमा घाइते मध्ये २ जना सघन उपचार कक्षमा, १८ जना विभिन्न वार्डमा उपचाररत छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांक अनुसार, बाढी पहिरोमा परेर शनिवारसम्म ७२ जनाको मृत्यु भएको छ भने ५ जना अझै वेपत्ता छन् । ७८ जना घाइते छन् । नेपाली सेना र नीजी कम्पनीका हेलिकप्टरबाट ८ सय ६७ र अन्य विभिन्न माध्यमबाट ८ हजार ४ सय ७१ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस