औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री पौडेल

नौलो समाचार संवाददाता
२०८१ आश्विन १९, शनिबार मा प्रकाशित १२६ पटक पढिएको
औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री पौडेल

पनौती / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल औषधी र स्वास्थ्य सामाग्री लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।

पनौती १२ भुमिडाँडामा आवश्यक औषधी, पानी शुद्धताका लागि सामाग्री सहितका स्वास्थ्य सामाग्री लिएर मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी लिएर स्वास्थ्यमन्त्री पौडेल बाढी र पहिरोको अति चपेटामा परेको पनौती वडा नं १२, भुमिडाँडा पुगेका हुन् ।

सो स्थानमा जनस्वास्थ्य कार्यालय काभ्रे, मेथिनकोट अस्पताल, पनौती नगरपालिका स्वास्थ्य शाखाका चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरिरहेको छ । त्यहाँ रहेको स्वास्थ्य चौकी पनि बाढीले बगाएपछि त्रिपालमा अस्थायी स्वास्थ्य चौकी सञ्चालित छ ।

नेपाली कांग्रेसका काभ्रेका सभापति समेत रहेका वाग्मती प्रदेशका पूर्वमन्त्री तिर्थ लामा, पनौती नगर प्रमुख रामशरण भण्डारी, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, गुणराज मोक्तान, प्रवक्ता सन्तमान तामाङ, क्षेत्रीय सभापति चन्द्रबहादुर लामासहित पुगेका मन्त्री पौडेलले उक्त स्थानका लागि आवश्यक स्वास्थ्य सामाग्रीसहित आफू आएको बताए । उनले प्रभावित क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको जनाउँदै आवश्यक थप सामाग्री तत्काल उपलव्ध गराउने प्रतिवद्धता पनि जनाए ।

उनले विपदको समयमा पानीजन्य महामारी हुन सक्ने भन्दै त्यसको लागि पनि मन्त्रालयमार्फत सामाग्रीहरु उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले स्थानीयको स्वास्थ्य परिक्षण गर्न विपदजन्य महामारी फैलन नदिन प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर र जनचेतनामुलक कार्यक्रम गरिरहेको जानकारी दिइन् । उनले औषधी लगायतका स्वास्थ्य सामाग्री अभाव हुन नदिन समन्वय गरिरहेपनि केही स्थानमा यातायातका साधन नचल्दा ढुवानीमा समस्या भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस