वाग्मतीका आर्थिक मामिला मन्त्री काफ्लेले बुझे काभ्रेमा बाढी र पहिरोको क्षति र व्यवस्थापन कार्ययोजना

नौलो समाचार संवाददाता
२०८१ आश्विन २०, आईतबार मा प्रकाशित २०३ पटक पढिएको
वाग्मतीका आर्थिक मामिला मन्त्री काफ्लेले बुझे काभ्रेमा बाढी र पहिरोको क्षति र व्यवस्थापन कार्ययोजना

धुलिखेल / बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लले बाढी र पहिरोका कारण काभ्रेमा भएको क्षति र यसको व्यवस्थापनको कार्ययोजनाबारे जानकारी लिएका छन् ।

प्रदेश अन्तर्गत जिल्लाका सरकारी कार्यालय प्रमुखहरुको बैठक राखेर मन्त्री काफ्ले बाढी र पहिरोले विभिन्न क्षेत्रमा पुर्याएको क्षति, यसको तत्कालिन र दीर्घकालिन असरबारे जानकारी लिँदै व्यवस्थापनको कार्ययोजना सुनेका हुन् ।

प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, प्रदेश लेखा इकाई, उद्योग वाणिज्य कार्यालय, प्रादेशिक प्रयोगशाला लगायतका कार्यालय प्रमुखले जिल्लामा भएको क्षति बारे जानकारी गराएका थिए ।

पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख राजु श्रेष्ठले २७ वटा प्रदेशस्तरीय सडकमध्ये १९ सडक का ६ सय ५५ किलोमिटरका विभिन्न खण्डमा क्षति भएको बताए । ४८ सडक पूलमध्ये ३ वटा वगाएको, ४ वटा सवारी नचल्ने गरी क्षति भएको, ३ वटा पुलको दायाँबायाँ सडक क्षति भएका र ३८ वटा पुल सामान्य ममर्तपछि चल्न सक्ने अवस्थामा रहेको जानकारी दिए । वी.पी. राजमार्गमा डाइभर्सन निर्माण सकिएपछि रोशी, तेमाल र महाभारत गाउँपालिकामा यातायात सञ्चालन गर्न सकिने भन्दै खानीखोलाको लागि केही समय लाग्ने बताए । उनले सडक पूर्वाधार मर्मत, सफाईको लागि श्रोत सकिएको भन्दै त्यसको व्यस्थापनको लागि अनुरोध गरे ।

सामाजिक विकास कार्यालय प्रमुख रनमाया फ्याकले विभिन्न पालिकामा विद्यालय क्षति भएको, बालबालिका र अभिभावकले ज्यान गुमाएको, सुत्केरी, जेष्ठ नागरिक र अपांगता भएकालाई कठिन भएको भन्दै तथ्याकं संकलन भइरहेको बताए ।

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काभ्रेका प्रमुख विनय पौडेलले काभ्रेका ५र्४ िसंचाई योजनामा क्षति पुगेको भन्दै प्याकेज बनाएर मर्मत नगरी बजेट अभाव हुने तर्क गरे ।
जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले विपद व्यवस्थापनको लागि स्वास्थ्यमा पर्याप्त बजेट नभएको भन्दै औषधी खरिद लगायतका विषयमा सहजीकरणको लागि अनुरोध गरिन् ।

कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले पनौती, बेथानचोक, नमोबुद्ध, रोशी, पाँचखाललगायतका क्षेत्रमा ६ सय ७० हेक्टर क्षेत्रफलको धानखेती, ३० हेक्टरमा फलेको मकै र ४ सय २५ हेक्टरमा लगाएको आलु लगायतका तरकारीबाली समेत गरी ४२ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान सुनाए । ७ हजार २ सय घरधुरी प्रत्यक्ष प्रभावित भएको भन्दै उनले खाद्य सुरक्षामा चुनौती थपिने बताए ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय काभ्रेका प्रमुख भुमि ढकालले एकिकृत वस्ती कसरी सुरक्षित बनाउने र आगामी पुननिर्माणको विधी के हुने स्पष्ट हुनुपर्ने बताए ।

पशु सेवा कार्यालय काभ्रेका निमित्त प्रमुख डा. निशान्त शर्माले बाढी र पहिरोमा परेर साना र ठूला गरी ४ हजार ६ सय ९४ पशु क्षति भएको प्रारम्भिक तथ्याकं आएको भन्दै मृत पशुको व्यवस्थापन र जीवितलाई आहार र खानेपानी चुनौती भएको बताए ।

मन्त्री काफ्लेले श्रोतको सुनिश्चितता हुनेमा ढुक्क हुन अनुरोध गर्दै विपदको समयमा खर्च गर्न केही सहजता बनाइने बताए । उनले मौलिक हकसंग जोडिएका विषयमा जिम्मेवार भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिए ।

विपदपछिको पुनर्निर्माण र पुनस्र्थापनामा काभ्रे पहिलो प्राथमिकतामा रहेको भन्दै उनले सडक पूर्वाधार, खानेपानीको क्षेत्रमा काम गर्ने बताए । कर्मचारीलाई प्रदेश सरकारको प्रतिनिधीको रुपमा चर्चा गर्दै उनले जनताले सरकार छ भन्ने अनुभुत हुने गरी काम गर्न निर्देशन दिए ।

बाढी पहिरो प्रभावित क्षेत्र अवलोकन
कार्यालय प्रमुखसंग व्रिफिङ लिनुअघि मन्त्री काफ्लेले पनौती नगरपालिका वडा नं १ मा बाढी तथा पहिरो प्रभावित क्षेत्रको र प्रदेश आयोजनाहरु अवलोकन गरेका थिए ।

नगर प्रमुख रामशरण भण्डारीले नगरमा भएको क्षतिको बारेमा मन्त्री काफ्लेलाई जानकारी गराएका थिए । प्रमुख भण्डारीले ११ किलोमिटर सडक बगाएको, एकिकृत खानेपानीतर्फ ५० करोड लगायत नगरपालिकामा भएको क्षतिबारे जानकारी गराएका थिए ।

पनौती वडा नं १ का अध्यक्ष जयबहादुर लामा लगायत स्थानीयल काभ्रेमा बढी क्षति भएको मध्येको स्थानीय तह भएको भन्दै प्रदेश सरकारबाट प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे ।
मन्त्री काफ्लेले स्थानीय तहसँग सहकार्य गरेर आफ्नो अधिकार क्षेत्रभित्र पर्ने काममा प्रदेशले सहकार्य गर्ने प्रतिवद्धता जनाए । प्रदेश अन्तर्गतका आयोजनाको पुननिर्माणलाई प्राथमिकता दिने उनको भनाई छ ।

मन्त्री काफ्लेको साथमा आएका वाग्मती प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तान, नेपाली कांंग्रेस काभ्रेका सचिव माधव ढकाल लगायतले क्षति र पुननिर्माणबारे जानकारी र चासो राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस