गृहमन्त्री लेखकले स्थलगत निरिक्षण गरे काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्र

नौलो समाचार संवाददाता
२०८१ आश्विन २१, सोमबार मा प्रकाशित ४९ पटक पढिएको
गृहमन्त्री लेखकले स्थलगत निरिक्षण गरे काभ्रेमा बाढी पहिरो प्रभावित क्षेत्र

काभ्रे / गृहमन्त्री रमेश लेखकले काभ्रेमा बाढी र पहिरोले बढी क्षतिग्रस्त क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् ।

सोमबार विहान काभ्रे आएका गृहमन्त्री लेखकले पनौती वडा नं १२ को रोशी बजार क्षेत्र, बेथानचोक वडा नं ४ को पाटीखर्क, सलान्दु बगर र चलाल गणेशस्थान र वी.पी. राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुञ्जे क्षेत्रको स्थलगत निरिक्षण गरेका हुन् ।

बढी प्रभावित क्षेत्रमा पुगेर गृहमन्त्री लेखकले त्यहाँका स्थानीय, जनप्रतिनिधीसंग क्षति, खोज, उद्धार, राहत लगायतका बिषयमा जानकारी लिएका थिए ।

पनौती नगरपालिका वडा नं १२ रोशी बजार क्षेत्रमा नगरपालिका प्रमुख राममशरण भण्डारीले त्यहाँ भएको क्षति,खोज, उद्धार र राहत व्यवस्थापनका बारेमा जानकारी गराउँदै पुनर्निमार्ण र पुनर्स्थापनामा प्राथमकिता दिन अनुरोध गरेका थिए ।

बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थस्थितिमा पु¥याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनर्स्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराउनुभएको थियो ।

बेथानचोक वडा नं ४ मा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, वडाअध्यक्ष कृष्णबहादुर तामाङ लगायतले त्यहाँको वस्तुस्थितीबारे जानकारी गराएका थिए । गाउँपालिका अध्यक्ष अधिकारीले खोज र उद्धार पछि सडक पहुँच बनाउन गाउँपालिकाले काम गरिरहेको जानकारी दिएका थिए ।

वी.पी. राजमार्ग हुँदै नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडा र रोशी गाउँपालिका वडा नं ७ कटुञ्जेवशी पुगेका मन्त्री लेखकलाई नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी खोलाले राजमार्ग र वस्तीमा पुर्याएको क्षति जानकारी गराएका थिए ।

चलालमा नेपाल प्रहरी अस्पताल र पनौतीमा शसस्त्र प्रहरी अस्पतालले गरेको स्वास्थ्य शिविर निरिक्षण गरेका मन्त्री लेखकले स्वास्थ्यकर्मीले गरेको सेवाप्रति आभार प्रकट गर्दै थप सेवा दिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस