पछिल्लो २४ घण्टामा काभ्रेमा ७ जनामा डेंगु संक्रमण पुष्टी

साउनयता २ सय ९४ जनालाई संक्रमण
नौलो समाचार संवाददाता
२०८१ आश्विन २९, मंगलबार मा प्रकाशित ८१ पटक पढिएको
पछिल्लो २४ घण्टामा काभ्रेमा ७ जनामा डेंगु संक्रमण पुष्टी
तथ्याकं श्रोत : जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक

धुलिखेल / पछिल्लो २४ घण्टा यता काभ्रेमा ७ जनालाई डेंगु संक्रमण पुष्टी भएको छ ।

मंगलबार साँझ जनस्वास्थ्य कार्यालय काभ्रेले सार्वजनिक गरेको विवरणमा धुखिलेल नगरपालिका ३ जना, पनौती र बनेपा नगरपालिकाका २/२ जनामा डेंगु संक्रमण पुष्टी भएको कार्यालयकी प्रतिभा मिश्रले जानकारी दिइन् ।

जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार, साउनयता डेंगु संक्रमितको संख्या २ सय ९४ पुगेको छ । ती मध्ये १ सय ४८ महिला र १ सय ४६ पुरुष छन् । संक्रमण पुष्टी हुनेको संख्या दैनिक बढिरहेको तथ्याकंले देखाएको छ । जनस्वास्थ्य कार्यालयको तथ्याकं अनुसार, असोज २५ गते ५ जना, २६ गते ४ जना, २७ गते ६ जना , २८ गते ३ जना र २९ गते ७ जनामा संक्रमण पुष्टी भएको छ ।

बनेपा, पनौती, धुलिखेल क्षेत्रमा बढी संक्रमित भएका छन् । बनेपा नगरपालिकामा १ सय ६ जना, पनौती नगरपालिकामा ५२ जना, धुलिखेलमा ४६ जनामा संक्रमण पुष्टी भएको थियो ।

भुम्लु गाउँपालिकामा २४ जना, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा १९÷१९ जना, नमोबुद्ध नगरपालिकामा १२ जना, रोशी गाउँपालिकामा ९ जना, चौरीदेउराली गाउँपालिकामा २ का साथै तेमाल र महाभारत गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार, बढी डेंगु संक्रमण भएका देशभरका प्रमुख १० जिल्ला मध्ये बाग्मती प्रदेशका ५ जिल्ला काठमाडौं, भक्तपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक रहेकाले पनि काभ्रे बढी जोखिममा छ ।

संक्रमण नियन्त्रणको लागि जनस्वास्थ्य कार्यालयको अगुवाईमा प्रत्येक शुक्रवार १० बजे १० मिनेट अभियान सञ्चालन गरिएको थियो । लामखुट्टे बस्न सक्ने सम्भावित स्थान खोज्ने र नष्ट गर्ने विधी नै ९० प्रतिशत प्रभावकारी भएको पाइएकोले सोही अनुसार अभियान गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख कक्षपतिले जानकारी दिइन् ।

काभ्रेमा आर्थिक बर्ष २०७८/७९ मा ४ सय ८७ जना, २०७९/८० मा ६ सय ८२ जना, २०८०/८१ मा २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टी भएको थियो ।

प्रतिक्रिया दिनुहोस