रोशीका तीन ‘गौरव’ आयोजनामा क्षति

नौलो समाचार संवाददाता
२०८१ कार्तिक ३, शनिबार मा प्रकाशित २१५ पटक पढिएको
रोशीका तीन ‘गौरव’ आयोजनामा क्षति

रोशी /  रोशी गाउँपालिकाले ‘गौरव’ मानेका तीन आयोजना असोज दोस्रो साता अविरल बर्षापछिको बाढीमा क्षति भएको छ ।

रोशी गाउँपालिका वडा नं १ मा तयार भएको १० शैयाको आधारभूत अस्पताल भवन, वडा नम्बर ११ मा रहेको डम्फु जीवन्त संग्रहालय र रोशी औद्योगिक ग्रामको प्रशासनिक भवन बाढीले क्षति पुर्याएको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले गाउँपालिकामा सञ्चालित ठूला आयोजनासहित अन्य भौतिक पूर्वाधारमा क्षति ठूलो भएको बताए ।

संघीय सरकारको ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ कार्यक्रम अन्तर्गत रोशी गाउँपालिका वडा नं १ खहरेपाँगुमा ६ करोड ५ लाख लागतमा निर्माणधीन ६ करोड ५ लाख लागतको दश शैयाको अस्पताल निर्माण सम्पन्न भएर हस्तान्तरण हुने चरणमा थियो । २०८१ जेठ मसान्तभित्र अस्पताल निर्माण सम्पन्न गर्न १३ चैत २०७७ मा सगुन धुलिखेल जेभीसँग सम्झौता गरिएको थियो । अस्पताल निर्माणका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ५ करोड १० लाख २४ हजार ८ सय ४२ रुपैयाँ ९९ पैसा खर्च भएको थियो । हस्तान्तरण हुने चरणमा रहेको अस्पताल भवन रोशी र खहरे खोलाहरुमा आएको बाढीले बगाएको छ ।

रोशी वडा नं ११ कालढुंगामा रहेको औद्योगिक ग्राम र डम्फु जीवन्त संग्रहालयसहितको पार्क पनि पूर्ण क्षति भएको छ । तामाङ जातिको रहनसहन, भेषभूशा, संस्कृति, रीतिरिवाज तथा तामाङ जातिको जनजीवनमा प्रयोग हुने सामग्री र तामाङ भाषाका पुस्तक रहने गरी निर्माण थालिएको १४ करोड लागत अनुमान भएको  ‘डम्फू जीवन्त संग्रहालय पार्क’ बाढीले बगाएको हो । ५ करोड ३८ लाख ७९ हजार १ सय ५ रुपैयाँ खर्च भएको संग्रहालयमा संघीय सरकारले ५ करोड र रोशी गाउँपालिकाको ३८ लाख ७९ हजार १ सय ५ रुपैयाँ लगानी भएको छ ।

निर्माण सम्पन्न भएको ९ डायमिटरको डम्फु, कम्पाउण्ड, संग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा बाढीमा क्षति भएको छ । रोशी गाउँपालिका वडा नं ११, कालढुंगामा करिव ७० रोपनी क्षेत्रफलमा तयार भएको औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना बाढीले बगाएको छ । संघीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको औद्योगिक ग्राममा संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १ करोड ६८ लाख र रोशी गाउँपालिकाको ५४ लाख गरी दुई करोड २२ लाख खर्च भइसकेको थियो । औद्योगिक ग्रामको उद्घाटनअगावै रोशी खोलामा आएको बाढीले जगैसमेत बगाएको छ ।

असोज दोस्रो साताको बाढीपहिरोमा काभ्रेमा ७८ जनाले ज्यान गुमाएका छन् । ७ जना अझै वेपत्ता छन् । भौतिक, आर्थिक क्षतिको विवरण अझै आइसकेको छैन । रोशी गाउँपालिकामा मात्रै बाट १२ जनाले ज्यान गुमाएका छन् भने ५२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस