‘स्थितिगत्यात्मक प्रगतिवाद’बारे राष्ट्रिय संगोष्ठी

नौलो समाचार संवाददाता
२०८१ कार्तिक ११, आईतबार मा प्रकाशित ११५ पटक पढिएको
‘स्थितिगत्यात्मक प्रगतिवाद’बारे राष्ट्रिय संगोष्ठी

धुलिखेल / काठमाडौं विश्वविद्यालयको हात्तिवनस्थित परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयक राष्ट्रिय संगोष्ठी गरिएको छ ।

सिद्धान्तबारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले संगोष्ठी आयोजना गरिएको आयोजक सहृदयता समाज नेपालले जनाएको छ ।

प्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले उद्घाटन गरेको संगोष्ठीमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक, वरिष्ठ मनोचिकित्सक, सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा. अजय रिसालले ‘श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता’ शीर्षकमा बीज–वक्तव्य (कीनोट स्पीच) दिए ।

उद्घाटन सत्रमा प्रा.डा. कोइराला र प्रा.डा. रिसालका साथै अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रसिद्ध साहित्यकार डा. टीएन जोशी, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने र डिभाइन पाथ इन्टरनेसनलकी अध्यक्ष, योगाचार्य एवं समाजशास्त्री योगिनी सरितानन्दीलगायतले धारणा राखे ।

संगोष्ठीको समापन सत्रमा प्रसिद्ध संस्कृतिविद् प्रा.डा. वीणा पौड्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक एवं गीता फर् लाइफ अभियानका अभियानकर्ता डा. हरिश्चन्द्र कमली, प्रा. डा. नारायणप्रसाद गड्तौला र सहृदयता समाज नेपालका अध्यक्ष सुशील गौतमलगायतले धारणा राखे ।

दुईवटा सत्रहरूमा प्यानल डिस्कसन (विद्वत् विमर्श) भएको संगोष्ठीमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता तथा पेशाकर्मीहरूले स्थितिगत्यात्मक प्रगतिवादका विभिन्न आयामहरूबारे विचारविमर्श गरे । तीनवटा समानान्तर सत्रमा २३ जना शोधार्थीले आ–आफ्ना कार्यपत्र प्रस्तुत गरे ।

काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख, जरोकिलो महाअभियानका संकल्पकर्ता एवं सिद्धान्तकार डा. निर्मलमणि अधिकारीले वि.सं. २०७६ सालमा नौवटा प्रवचन–श्रृखंलामार्फत् ‘स्थितिगत्यात्मक प्रगतिवाद’ सिद्धान्तको व्याख्या गरेका थिए । वैदिक दर्शनका आधारमा डा. अधिकारीले सामाजिक–सांस्कृतिक एवं अर्थराजनीतिक दृष्टिकोणबाट समाज विकासको सिद्धान्त प्रस्तुत गरेका हुन् । यसबारे विभिन्न भाषामा पुस्तकहरू, अनुसन्धानपत्र तथा लेखहरू प्रकाशित भइसकेका छन् ।

डा. अधिकारीद्वारा प्रतिपादित ११ वटा सिद्धान्त एवं अवधारणामा केन्द्रीत रही निकट भविष्यमै अन्तर्राष्ट्रिय संगोष्ठी समेत आयोजना गरिने सहृदयता समाजका अध्यक्ष गौतमले जनाए ।

 

प्रतिक्रिया दिनुहोस