आज भाइटिका : बिहान ११ : ३७ बजे उत्तम साइत

नौलो समाचार संवाददाता
२०८१ कार्तिक १८, आईतबार मा प्रकाशित १८४ पटक पढिएको
आज भाइटिका : बिहान ११ : ३७ बजे उत्तम साइत
प्रतिकात्मक तस्वीर

बनेपा /  नेपालीले दोस्रो ठूलो चाडको रुपमा मनाउने तिहारको पाचौं दिन आज भाइटिका लगाइदैछ । यमपञ्चक अन्तर्गत पाचौं दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टिका लगाइदिन्छन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।

यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

यता, दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस