शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवन बनेपाका राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने

नौलो समाचार संवाददाता
२०८१ कार्तिक २१, बुधबार मा प्रकाशित ७५२ पटक पढिएको
शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवन बनेपाका राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने
भवन शिलान्यास गर्दै दाता राजभाई प्रधानका मामा ९१ बर्षीय तप्तराज वन्त । साथै भवनको थ्रिडी स्केच ।

बनेपा /  शिर मेमोरियल अस्पतालको बहिरंग विभाग भवन बनेपाका राजभाई प्रधानले व्यक्तिगत खर्चमा बनाइदिने भएका छन् । करिब ३ करोड ५० लाख लागत अनुमान भएको भवन निर्माणको लागि प्रधानले रकम सहयोग गरेका हुन् ।  अहिले बहिरंग र अन्तरंग सेवाको लागि कोठा अभाव हुँदा सेवा विस्तार हुन कठिनाई हुँदै आएको छ ।

८ बर्षअघि भवन निर्माणको कुरा अघि बढाएका प्रधानले नक्सा निर्माण, नक्सा पास लगायतका कामले केही ढिला भएपनि आफू जन्मिएको स्थानमा केही गर्न पाएकोमा खुशी व्यक्त गर्दछन् । आफू कुनै उद्योगपति, धनाढ्य नभएपनि जन्मेपछि समाजलाई केही योगदान दिनुपर्छ भनेर अस्पतालको सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको बताए ।

बनेपा स्थायी घर भएका प्रधान हाल ललितपुरको बागडोल बस्दै आएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रको लागि सहयोग गर्दै आएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वर लगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन् ।

१२ हजार वर्गफिटमा बन्ने २ तले बहिरंग विभागको भवन २ बर्षमा पुरा हुने लक्ष्य राखिएको छ । दाता राजभाई प्रधानका मामा ९१ बर्षीय तप्तराज वन्तले भवन शिलान्यास गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेश गंगोल, बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्य, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, वरिष्ठ साहित्यकार मोहन दुवाल, शीर मेमोरियल मेडिकल एण्ड एजुकेशनल ट्रष्टका सदस्य एवं दाता संस्था एडभेन्ट हेल्थका ग्रेग होद्ग्सन, अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरस, प्रमुख कार्यकारी सल्लाहकार सुन्दर थापा मगरलगायतले प्रधानको सहयोगी भावनाको प्रशंसा गर्र्दै यसले अस्पतालमा बनेपा, काभ्रे र अन्य जिल्ला समेतका सेवाग्राही लाभान्वित हुने तर्क गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस