रोशी गाउँपालिकाको भीमखोरीका ८० घरधुरीमा सोलारको ‘उज्यालो’

नौलो समाचार संवाददाता
२०८१ मंसिर ११, मंगलबार मा प्रकाशित ३४८ पटक पढिएको
रोशी गाउँपालिकाको भीमखोरीका ८० घरधुरीमा सोलारको ‘उज्यालो’

रोशी /  रोशी गाउँपालिका वडा नं ११, भीमखोरीका ८० घरधुरीमा सोलारमार्फत ‘उज्यालो’ बत्ती बालिएको छ ।

असोज १० देखि १२ गतेको अविरल वर्षापछिको बाढी र पहिरोको कारण राष्ट्रिय प्रशारण लाइनको विद्युतविच्छेद भएको सो स्थानमा चीनको ह्वायान टेम्पल अफ छोङछिङको सहयोगमा ८० घरधुरीलाई सोलार वत्ती उपलव्ध गराइएको हो ।

नेपालस्थित चिनियाँ दुतावासमार्फत उक्त टेम्पलले रोशी गाउँपालिका र रसुवाको आमा छोदिङमो गाउँपालिका र गोदावरी नगरपालिकामा ‘गाउँ उज्यालो बनाउँ परियोजना’मार्फत सहयोग गरेको थियो ।

मगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित चिनियाँ दूतावासका काउन्सुलर सि वाङले दुवै देशका नागरिकको सोच एकै भएकोले साथ साथै अघि बढ्ने विश्वास व्यक्त गरे । उनले बाढी र पहिरो प्रभावित गाउँमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै सरसफाइका सामाग्री पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले अझै प्रशारण लाइन नपुगेको गाउँमा गरिएको रचनात्मक सहयोगको लागि आभार प्रकट गर्दै निरन्तरताको कामना गरे । उक्त सहयोगले स्थानीय, स्कुले बालबालिका र साना उद्यमी महिलालाई अझै सहयोग पुगेको बताए । २०८१ असोज १० देखि १२ गतेको अबिरल बर्षापछिको बाढी र पहिरोको कारण रोशीमा १२ जनाले ज्यान गुमाएको, ५ सय ४ घरधुरी पूर्ण क्षति हुनुका साथै २५ सय ४४ घरधुरीका खेतबारी र पशुपंक्षी नष्ट भएको भन्दै विपद्पछिको पुनर्निर्माणमा सघाउन काउन्सुलरमार्फत दुतावासलाई अनुरोध गरे ।

रसुवा जिल्लाको आमा छोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले चीन सरकारले यसअघि भुकम्प लगायतका विपदमा पनि सहयोग गरेको स्मरण गर्दै गाउँपालिकाले आफ्नो बजेटबाट गर्न नसक्ने सहयोग गरेको भन्दै आभार प्रकट गरिन् ।

छोङछिङ ह्वायान टेम्पलका पर्यवेक्षक मास्टर दु आङले बौद्ध धर्मावलम्वीले अरुको दुख देख्न नसक्ने भन्दै सहयोग गरिएको भन्दै यस्ता कार्यले विश्वमा शान्ती ल्याउने र एकतावद्ध बनाउने बताए ।

चीनको छोङछिङ नगरपालिका ह्वायान सांस्कृतिक र शैक्षिक फाउण्डेसनका सचिव दाओ जियानले ग्रामिण भेगका सबै विद्यालयमा सफा खानेपानीको लागि सहयोग गर्ने अपेक्षा गरे ।

‘गाउँ उज्यालो बनाउँ’ परियोजनाका नेपाल प्रतिनिधी मानबहादुर तामाङले अझै पनि वत्तीको सुविधा नभएको ग्रामिण भेगमा सहयोग गरेको चीन र त्यहाँको टेम्पललाई धन्यवाद दिदैँ यसले नेपाल र चीनविच सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गरे ।

गोदावरी नगरपालिका वडा नं ४ बडिखेलका बुद्ध महर्जनले राजधानीसँगै भएर पनि ७ बर्षदेखि वत्तीका अभावमा रहेका परिवारलाई सहयोग गरेकोमा आभार प्रकट गरे ।

 

प्रतिक्रिया दिनुहोस