खानेपानीको चरम अभाव भएको भन्दै तरुण दल धुलिखेलले गरायो ध्यानाकर्षण

नौलो समाचार संवाददाता
२०८१ मंसिर १२, बुधबार मा प्रकाशित १२४० पटक पढिएको
खानेपानीको चरम अभाव भएको भन्दै तरुण दल धुलिखेलले गरायो ध्यानाकर्षण

धुलिखेल / धुलिखेलमा खानेपानीको चरम अभाव भएको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल धुलिखेलले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण पनौती वडा नं १२ र २ मा रहेको मुहान क्षेत्रमा खानेपानीको संरचनामा क्षति पुगेको २ महिना हुँदा पनि सम्बन्धित निकायले ठोस निर्णय नलिँदा समस्या भएको भन्दै तरुण दलले धुलिखेलले नगरपालिका, पनौती नगरपालिका, जिल्ला प्रशासन कार्यालय काभ्रे, धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिति सदस्य मञ्जुकुमार कोजू, प्रदेश सभा क्षेत्र नं २ (क) का सचिव सजय तामाङ, नेपाल तरुण दल काभ्रेका सचिव छवि व्याञ्जुको उपस्थितीमा नेपाल तरुण दल नगर कार्यसमिति धुलिखेलका सभापति छिरिङ लामाको नेतृत्वमा उपसभापति अनुप लामिछाने, सचिव सुशील रानाभाट, कोषाध्यक्ष दिपेश रानाभाटसहितको टोलीले धुलिखेल नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, पनौती नगर प्रमुख रामशरण भण्डारी, काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेल, धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा, तत्कालिन श्री ५ को सरकार र जर्मन सरकारको सहयोगमा वि.सं.२०४५÷५० सालमा सम्पन्न भएको आयोजना क्षति भएको लामो समयसम्म पनि खानेपानी उपभोक्ता समिति, जनप्रतिनिधी र सम्बन्धित निकायले अग्रसरता नदेखाउँदा धुलिखेलमा खानेपानीको हाहाकार भएको आरोप लगाइएको छ ।

पानीको अभावले थुप्रै संघ संस्था, कार्यालयहरु र होटलहरु व्यवसाय समेत संकटमा रहेको भन्दै तरुण दलले पानी जस्तो संवेदनशील विषयमा राजनीतिकरण नगरी तत्काल वार्ता र संवादमार्फत यथाशिघ्र समस्याको समाधान निकाल्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस