आभाष साकोसले गर्यो २ सय ३ जेष्ठ सदस्यलाई सम्मान

नौलो समाचार संवाददाता
२०८१ मंसिर १५, शनिबार मा प्रकाशित २२७ पटक पढिएको
आभाष साकोसले गर्यो २ सय ३ जेष्ठ सदस्यलाई सम्मान

बनेपा / बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले आफ्ना २ सय ३ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ ।

७० बर्ष उमेर पुगेका आफ्ना सदस्यलाई २०७४ सालदेखि सम्मान गर्दै आएको सहकारीले यो बर्ष २ सय ३ जना ज्येष्ठ सदस्यलाई खानेकुरा, हटकेस र कप उपहारसहित सम्मान गरेको संस्थाका मुख्य प्रबन्धक सुवाष वैद्यले जानकारी दिए । उनका अनुसार, मुख्य कार्यालय बनेपाबाट १ सय ७५ जना, पनौती सेवा केन्द्रबाट १४ र भकुण्डे सेवा केन्द्रबाट १४ जना गरी २ सय ३ जनालाई सम्मान गरिएको हो । उत्कृष्ट बचत कारोबार गर्ने जेष्ठ सदस्य नारायण प्रसाद वैद्य र उत्कृष्ट संस्थापक सदस्य रामेस्वर कर्माचार्यलाई सम्मान गरिएको छ ।

संस्थाका प्रमुख सल्लाहकार समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले उनीहरुलाई सम्मान गरेका थिए । वैद्यले ज्येष्ठ सदस्यको वर्षेनी सम्मान गर्दै आभाषले समाजलाई सकारात्मक सन्देश प्रवाह गरेको तर्क गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री राज तिमल्सिना, संस्थाका अध्यक्ष ग्रोवेन तौजले, सचिव धर्मभक्त प्रधानलगायतले सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेको भन्दै अन्य सहकारी, संघसंस्थाले अनुशरण गर्नुपर्ने बताए ।

संस्थाको स्थापना दिवसमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेको प्रमुख प्रवधन्क वैद्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस