स्थानीय तहले तथ्याकं नटुंग्याउँदा बाढीपहिरो प्रभावितले राहत पाएनन्

अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका गैरसरकारी संस्थामार्फत काभ्रेका केही प्रभावितले मात्रै राहत रकम पाएका छन् ।
नौलो समाचार संवाददाता
२०८१ मंसिर १५, शनिबार मा प्रकाशित २६६ पटक पढिएको
स्थानीय तहले तथ्याकं नटुंग्याउँदा बाढीपहिरो प्रभावितले राहत पाएनन्
फाइल तस्वीर ।

धुलिखेल  /  जिल्लाका ११ स्थानीय तहले तथ्यांक नटुंग्याउँदा बाढीपहिरो प्रभावितले राहत रकम अझै पाउन सकेका छैनन् । गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी पहिरोमा भएको क्षतिको विवरण २ महिनासम्म पनि यकिन नगर्दा सरकारले दिने भनेको राहत रकम प्रभावितले नपाएका हुन् ।

केही स्थानीय तहमा गैरसरकारी संस्थाले राहत रकम वितरण गरेका छन् । तर, पूर्ण विवरण नहुँदा संघीय सरकारले पुनर्वासका लागि दिने भनेको रकम पनि अन्यौल भएको छ । अस्थायी आवास निर्माणका लागि सरकारले उपलव्ध गराउने भनेको ५० हजार रुपैयाँको लागि मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहले उपलव्ध गराउन सकेका छैनन् ।

‘स्थानीय तहसँग पटक पटक छलफल र ताकेता गर्दा पनि पूर्ण विवरण प्राप्त भएको छैन, विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयमा पनि तथ्यांक पठाएको जानकारी छैन,’ जिल्ला प्रशासन कार्यालय काभ्रेका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले भने, ‘विवरण यकिन नहुञ्जेल सरकारले दिने भनेको राहत रकम विवतरण हुन सकेको छैन, स्थानीय तहलाई बैठक राखेर फेरी ताकेका गर्ने तयारीमा छौं । ’ स्थानीय तहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको विपद पोर्टलमा ‘डाटा इन्ट्री’ गरी सोको जानकारी जिल्लास्थित विपद् ब्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्नेछ ।

तेमाल गाउँपालिकाले मात्रै जिल्ला विपद व्यवस्थापन समितिमा तथ्याकं बुझाएको छ भने नमोबुद्ध नगरपालिकाले तथ्याकं तयार गरी वेवसाइटमार्फत सार्वजनिक गरेको छ । बाढी र पहिरोबाट बढी प्रभावित रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले तथ्याकं तयार भइ विभिन्न निकायमा पढाएपनि विपदको पोर्टलमा अद्यावधिक गर्न भने बाँकी रहेको बताए ।

सरकारले बाढीपहिरो प्रभावितलाई गुजाराका लागि पाँच जनासम्म भएका प्रतिपरिवारलाई १५ हजार र ५ भन्दा बढी सदस्य भएकालाई २० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेपनि पाउन सकेका छैनन् ।विपद् पीडित उद्दार र राहत सम्वन्धी (सातौ संशोधन) मापदण्ड २०७७ बमोजिम विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न–बाली तथा जग्गा जमिन वा पसल ब्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्नसमेत नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रति परिवार ५ जनासम्मको हकमा रु १५ हजार र सोभन्दा बढी सदस्य भएको हकमा रु २० हजारका दरले नगद जिल्ला विपद् ब्यवस्थापन कोषबाट उपलब्ध गराउने निर्णय जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गरेको थियो ।

अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका गैरसरकारी संस्थामार्फत काभ्रेका केही प्रभावितले रकम पाएका छन् । युनिसेफले नमोबुद्धका ८ सय ४५ घरधुरीलाई र बेथानचोक वडा नं ५ र ६ का २ सय ६९ घरधुरीलाई राहत रकम वितरण गरिसकेको छ भने मण्डनदेउपुरमा तयारी गरेको छ । नेपाल रेडक्रस सोसाइटीले बेथानचोक वडा नं २ र ४ का १ सय ११ घरधुरी र पनौती नगरपालिकाका १ हजार १ सय प्रभावित मध्ये ८ सय घरधुरीलाई रकम वितरण गरेको छ भने वडा नं ११ मा वितरण गर्ने क्रममा छ । सिआरएसमार्फत शान्ती जनआदर्श सेवा केन्द्रले पनौतीका १ सय ४६ घरधुरी र रोशीका १ सय ८ घरधुरीलाई राहत रकम वितरण गरेको छ । विश्व खाद्य कार्यक्रमले रोशी गाउँपालिकाको १ हजार २ सय ३० घरधुरी र तेमाल गाउँपालिकाको १ हजार १ सय ७४ घरधुरीमा रकम वितरण गर्ने अन्तिम तयारी गरेको छ ।

 

बाढी र पहिरोले काभ्रेमा धनजनको ठूलो क्षति गरेपनि विवरण यकिन गरेको छैन । जिल्ला विपद व्यवस्थापन समितिको प्रारम्भिक विवरणअनुसार जिल्लाका २ हजार ५ सय ७७ घर पूर्णरूपमा र ७ सय ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको छ ।

सरकारले प्रारम्भिक क्षतिका आधारमा विपद संकटग्रस्त घोषणा गरेको स्थानीय तहलाई पठाएको ९ करोड २५ लाख अनुदान भने पठाइसकेको छ । रोशी, तेमाल र बेथानचोक गाउँपालिका तथा पनौती र नमोबुद्ध नगरले  १/१ करोड अनुदान प्रदान गरिएको छ भने मण्डनदेउपुर नगर तथा भुम्लु, चौरीदेउराली र महाभारत गाउँपालिकाले ७५ लाख र पाँचखाल नगरपालिकाले ५० लाख अनुदान प्राप्त गरेका छन् ।

बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई संघीय सरकारबाट प्रतिव्यक्ति २ लाखका दरले प्राप्त १ करोड २६ लाख र प्रदेश सरकारले प्रतिव्यक्ति १ लाखका दरले पठाएको ५८ लाख रकम स्थानीय तहमा पठाएर वितरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस