महाभारत गाउँपालिकामा बृहत स्वास्थ्य शिविर, मन्त्री थापामगरले गरे उद्घाटन

नौलो समाचार संवाददाता
२०८१ मंसिर १८, मंगलबार मा प्रकाशित २३२ पटक पढिएको
महाभारत गाउँपालिकामा बृहत स्वास्थ्य शिविर, मन्त्री थापामगरले गरे उद्घाटन

बनखुचौर /  जनस्वास्थ्य कार्यालय काभ्रेले महाभारत गाउँपालिका वडा नम्बर ६ बनखुचौरमा बहृत स्वास्थ्य शिविर गरेको छ ।

गाउँपालिकाको समन्वयमा कार्यालयले भौगौलिक रुपमा विकट मानिने डाँडापारी क्षेत्रको बनखुचौरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकसहित शिविर आयोजना गरेको हो ।

एकिकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान अन्तर्गत विकट क्षेत्रमा विशेषज्ञ सेवा दिने उद्धेश्यले शिविर गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताइन् ।

मंसिर १८ गते बनखुचौरमा र १९ गते गोकुलेको शिविरमा मेथिनकोट अस्पताल, बज्रबाराही अस्पताल, शिर मेमोरियल अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य चौकी, सिन्धुली अस्पताल, नेपाल परिवार नियोजन संघ काभ्रेका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत तथा मुख, स्त्री तथा प्रसुती, आयुर्वेदसम्बन्धी स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा प्रदान हुनेछ । यसका अलावा प्रयोगशाला परिक्षण, एक्सरे, अल्ट्रासाउन्ड र निशुल्क औषधी वितरण गरिएको कार्यक्रम संयोजक रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका परिवार नियोजन अधिकृत पद्मराज कैनीले जानकारी दिए ।

गाउँमा नै सेवा पाउँदा स्थानीयले खुशी व्यक्त गरेका छन् । स्वास्थ्य उपचारको लागि ललितपुरको पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान जाने ७० बर्षिय ठुलीमाया तामाङले विशेषज्ञ डाक्टर नै गाउँ आएपछि खुशी व्यक्त गरिन् । ‘उपचारको लागि एक बर्ष, दुई बर्षमा ललितपुर जाने गरेको थिए, अहिले डाक्टरहरु नै गाउँ आएपछि धाएर जानुपरेन, निकै खुशी लागेको छ,’ उपचारको लागि २ घण्टा हिडेर आएकि तामाङले भनिन्, `गाउँमा नै आएर डाक्टरहरुले उपचार गराइदिनु भयो, एक्सरे पनि भयो, औषधि पनि निशुल्क पायौं, आयोजकलाई धेरै धेरै धन्यवाद ।´

वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले शिविर उद्धघाटन गर्दै मन्त्री भौगोलिक रुपमा विकट महाभारत गाउँपालिकाको स्वास्थ सेवा सुदृढ बनाउन यहाँको आधारभुत अस्पताललाई व्यवस्थित बनाउन दक्ष जनशक्ति र स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिवद्धता जनाए । दुर्गम गाउँपालिकाका स्वास्थ्य संस्थालाई टेलिमेडिसिनमार्फत जोडेर विशेषज्ञ स्वास्थ्य सेवा दिने उनले बताए । नागरिकको स्वास्थ्यमा रहेका समस्या पत्ता लगाउन यस्ता स्वास्थ्य शिविर उपयोगी हुने तर्क गर्दै उनले स्थानीय तहसंग सहकार्य गरेर प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य शिविर गरिएको बताए ।

पुर्वमन्त्री रहेका प्रदेश सभा सदस्य रत्न ढकालले प्रदेश भित्रका स्वास्थ्य सम्वन्धित समस्या समाधानको लागी स्थानीय तह संग सहकार्य गर्ने बताए ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले दुर्गम गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन बेला बेलामा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम आयोजना गरिने गरेको भन्दै नियमित विशेषज्ञ सेवा दिनको लागि गाउँपालिकाको आधारभुत अस्पतालमा दक्ष जनशक्ति र स्वास्थ्य उपकरण उपलब्ध गराइदिन अनुरोध गरे ।

महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले वडा नम्वर २ स्याप्लेडाडा र ७ को धनरासडाडामा वर्थिङ सेन्टर नहुदा सुत्केरी गराउन समस्या भएको भन्दै मन्त्री थापा मगरलाई सो सम्वन्धी व्यवस्थापनको निर्णय गर्दिन अनुरोध गरे ।

कार्यक्रममा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र वागमतीका निर्देशक डा. अर्जुन सापकोटा, महाभारत गाउँपालिका शिक्षा शाखा प्रमुख रामबहादुर तामाङ, नेपाल पत्रकार महासङ्घ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, महाभारत गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गणेशकुमार लुङ्गेली मगरलगायतले ग्रामीण भेगमा गरिएको स्वास्थ्य शिविरले स्थानीय लाभान्वित हुने तर्क गरे ।

कार्यक्रममा मन्त्री थापामगर, प्रदेश सभा सदस्य रत्न ढकाल, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र वागमतीका निर्देशक डा. अर्जुन सापकोटा, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले महाभारत गाउँपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर, अल्ट्रासाउन्ड मेसिन, डेलिभरि सेट सहित ११ लाख वराबरको स्वास्थ्य उपकरण र ३ लाख बराबरको औषधि हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस