महाभारत गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा १ हजार ६ सय ५१ जनाले सेवा लिए

नौलो समाचार संवाददाता
२०८१ मंसिर २०, बिहिबार मा प्रकाशित ७९ पटक पढिएको
महाभारत गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा १ हजार ६ सय ५१ जनाले सेवा लिए

गोकुले / महाभारत गाउँपालिकामा भएको वृहत स्वास्थ्य शिविरमा १ हजार ६ सय ५१ जनाले सेवा लिएका छन् ।

महाभारत गाउँपालिकाको समन्वयमा जनस्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरेको स्वास्थ्य शिविरमा महाभारत गाउँपालिका वडा नं १ र ६ का स्थानीयले विशेषज्ञ स्वास्थ्य सेवा लिएका हुन् ।

मेथिनकोट अस्पताल, बज्रबाराही अस्पताल, शिर मेमोरियल अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य चौकी, सिन्धुली अस्पताल, नेपाल परिवार नियोजन संघ काभ्रेका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीले सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत तथा मुख, स्त्री तथा प्रसुती, आयुर्वेदसम्बन्धी स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा प्रदान गरेको कार्यक्रम संयोजक रहेका जनस्वास्थ्य कार्यालय काभ्रेका परिवार नियोेजन अधिकृत पद्मराज कैनीले जानकारी दिए । उनका अनुसार, शिविरमा ४ सय ३६ जनाले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परिक्षण, उपचार र परामर्श सेवा लिएका थिए । १ सय २९ जनाले नाक, कान घाँटी परिक्षण र उपचार गराएका छन् । १ सय ८३ जनाको छाती एक्स–रे गर्दा ६ जनामा क्षयरोग देखिएको छ भने १९ जनामा क्षयरोग आशंका गरिएको छ ।


२ सय ८३ जनाले स्त्रीरोग, प्रसुति तथा प्रजनन् स्वास्थ्य सम्वन्धी परिक्षण, उपचार र परामर्श सेवा लिएका छन् । पाठेघरको मुखको क्यान्सरको समस्या भएका १२ जनाको उपचार गरिएको छ र ९९ जनाले दन्त परिक्षण, २ जनाले परिवार नियोजन सेवा लिएका छन् । ८६ जनाको भिडियो एक्स–रे सेवा, ६३ जनाको प्रयोगशाला परिक्षण र १ सय ७ जनाले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी परिक्षण तथा उपचार र परामर्श सेवा लिएका छन् । जनस्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागिश्री कक्षपतिले शिविरमा पाठेघरको समस्या र बाल विबाहका कारण कम उमेरमा गर्भवती हुने स्वास्थ्य समस्या, सरसफाइका कारण हुने स्वास्थ्य समस्या बढी देखिएको छ ।

आँखा परिक्षण गराएका ९ सय ७५ जना मध्ये १ सय १० जनालाई मोतियाविन्दु शल्यक्रिया गर्नुपर्ने देखिएको छ । घर्तिछाप स्वास्थ्य चौकीमा मंसिर २१ र २२ गते उनीहरुको शल्यक्रिया महाभारत स्वास्थ्य शाखा निमित्त संयोजक संगिता लामाले जानकारी दिइन् ।

वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले शिविर उद्धघाटन गर्दै नागरिकको स्वास्थ्यमा रहेका समस्या पत्ता लगाउन यस्ता स्वास्थ्य शिविर उपयोगी हुने तर्क गर्दै उनले स्थानीय तहसंग सहकार्य गरेर प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य शिविर गरिएको बताएका थिए ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले दुर्गम गाउँपालिकाका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन बेला बेलामा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए ।

गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले विकट गाउँपालिकामा शिविर आयोजना गरेर यहाँका नागरिकलाई सेवा प्रदान गरेको भन्दै आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस