एमालेको विद्यार्थी संगठन अनेरास्वियु काभ्रेमा समानान्तर कमिटी

दुई पक्षले दुई जनालाई अध्यक्ष तोक्यो
नौलो समाचार संवाददाता
२०८१ पौष ५, शुक्रबार मा प्रकाशित ६३६ पटक पढिएको
एमालेको विद्यार्थी संगठन अनेरास्वियु काभ्रेमा समानान्तर कमिटी

बनेपा / नेकपा एमालेको गुटगत राजनीति जनसंगठनमा देखिन थालेको छ ।

एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) को ३१ औं जिल्ला अविधेशनमा यो छताछुल्ल भएको छ ।

पार्टी निकट संस्थापन पक्षले दिपेश तिमल्सिनाको अध्यक्षतामा कमिटी घोषणा गरेको छ भने अर्को पक्षले निराजन तिमल्सिनाको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरेको छ ।

दिपेश नेतृत्वको कमिटीको उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल, सुजन सापकोटा, सचिव प्रवीण पौडेल, सहसचिव तिर्सना तामाङ, आभास चौलागाईं, उत्कर्ष दाहाल, कोषाध्यक्ष प्रजिता ढुंगाना लगायत छन् । निराजन नेतृत्वको जिल्ला कमिटीको उपाध्यक्षमा भिजन लामा, सुजन कोइराला, प्रजिता ढुंगाना, सचिव सुजन सापकोटा, सहसचिव सञ्जीव हुमागाई, उत्कर्ष दाहाल, तृष्णा तामाङ, कोषाध्यक्ष विनायक न्यौपाने, कार्यालय सचिव विकास योञ्जन लगायत छन् ।

पोलिट्व्युरो सदस्य गोकूलप्रसाद बास्कोटाले उद्धघाटन गरेको अधिवेशनमा अध्यक्ष मण्डल बनाउने विषयमा नै विवाद भएको थियो । संस्थापनले जनसंगठन विभाग प्रमुख प्रकाश रोक्को अध्यक्षतामा अध्यक्ष मण्डल बनाउन खोजे देखि विवाद भएको थियो । अर्को पक्षले अनेरास्वियु स्थायी कमिटीको निर्णय अनुसार प्रदेश अध्यक्षको अध्यक्षतामा गठन गर्ने प्रचलन रहेकाले सोही अनुसार गर्नुपर्ने अडान राखेको थियो । केन्द्रीय निर्वाचन आयोग संयोजक सत्या शाहीले निर्वाचन आयोगका सदस्य हेमराज हुमागाईलाई संयोजक तोकेर पत्र पठाएपछि संस्थापन पक्षले त्यसलाई मानेको छैन ।

अनेरास्वियु काभ्रेका अध्यक्ष मिलनकुमार गौतमले वन्दशत्रका सबै प्रकृया सकिएपछि ब्यानर र झण्डा समेत निकालिसकेपछि आएर भएको घोषणा मान्य नहुने बताए । ‘प्रदेश अध्यक्ष निर्वाचन मण्डलको अध्यक्ष हुने विधानत व्यवस्था नभएकोले पार्टीले तोक्ने वा प्रदेश अध्यक्ष बनाउने दुवै अभ्यासमा छ, स्थायी कमिटीले निर्णय गरेपनि हामीलाई कुनै सर्कुलर छैन,’ गौतमले भने, ‘सोही अनुसार पार्टीले अध्यक्ष मण्डल बनाएर कमिटी बनाएको हो, बन्दशत्रका सबै काम सकिएपछि भएको घोषणाको कुनै अर्थ छैन ।’ उनले अर्को समूहले घोषणा गरेका पदाधिकारी र सदस्यले समेत दिपेश नेतृत्वकै कमिटीमा रहेको सामाजिक सञ्जालमार्फत व्यक्त गरेको दाबी गरे ।

अनेरास्वियु निर्वाचन आयोगका सदस्य हेमराज हुमागाई विधी, विधान र प्रकृया सबै लत्याएर गरिएको घोषणा मान्य नहुने बताए । ‘अध्यक्ष मण्डल समेत नबनिकन, बन्दशत्रका कुनै प्रकृया शुरु नगरिकन, राजनीतिक प्रतिवेदनहरु पारित नगरीकन, कल्ष्टर समेत नछुट्याई, प्रतिनिधी प्रमाणित समेत नभइकन कमिटी घोषणा भएछ,’ हुमागाईले भने, ‘स्थायी कमिटी बैठकले प्रदेश अध्यक्ष अध्यक्ष मण्डलको संयोजक हुने व्यवस्था छ, निर्वाचन आयोगले मलाई जिम्मेवारी दिएकोले हामीले कमिटी घोषणा गरेका हौं ।’

अनेरास्वियुको केन्द्रीय समिति नै विभाजित देखिएको छ । काभ्रे गृह जिल्ला समेत रहेका केन्द्रीय अध्यक्ष समिक बडालले संस्थापन पक्षले घोषणा गरेको कमिटी आधिकारिक भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको छ भने बहुमत स्थायी कमिटी निराजनको कमिटीको पक्षमा रहेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस