पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा, मन्त्री पाण्डे पनि सहभागी

नौलो समाचार संवाददाता
२०८१ पौष ६, शनिबार मा प्रकाशित १६९ पटक पढिएको
पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा, मन्त्री पाण्डे पनि सहभागी

पनौती / पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा प्रवेश गरेको छ ।

२०७५ सालमा काभ्रेली सकृय महिला संगठनले शुरु गरेको पनौती त्रिवेणी सरसफाई अभियान ३०० औं हप्तामा प्रवेश गरेको हो । संगठनमा आवद्ध महिलाले प्रत्येक शनिवार पनौतीको त्रिवेणी खोला आसपास सरसफाई गर्दै आएका छन् ।

अभियान ३०० औं हप्ता पुगेको सन्दर्भमा संघीय सरकारका सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रिप्रसाद पाण्डे पनि सहभागी भए । सरसफाईमा सहभागी भएका मन्त्री पाण्डे सरसफाइ भनेको चेतनाको कुरा भएको भन्दै व्यक्ति, समुह, संस्थाले मात्रै सम्भव नहुने भन्दै फोहोर नै नगर्न जोड दिनुपर्ने बताए । सस्कृति, सम्पदा संरक्षणको लागि सरसफाई महत्वपूर्ण विषय भएको भन्दै मन्त्री पाण्डेले सम्पदा संरक्षण ३ वटै तहका सरकारको दायित्व भएको बताए । उनले ऐतिहासिक पनौतीमा धार्मिक सास्कृतिक पर्यटनको विकासको लागि ३ वटै तहका सरकारको समन्वयमा योजना ल्याउने प्रतिवद्धता जनाए ।

काभ्रेली सकृय महिला संगठन पनौतीका अध्यक्ष एवं पनौती त्रिवेणी सरसफाई अभियानका संयोजक सुमित्रा आचार्य वञ्जाराले वाग्मती सरसफाई महाअभियानबाट प्रेरित भएर २०७५ सालमा शुरु गरेको अभियानमा सबैको साथ आवश्यक रहेको बताइन् । ‘यतिको समय सरसफाई गर्दा खोइ सफा भएको भन्नुहुन्छ, चित्त दुख्छ,’ उनले भनिन्, ‘आफ्नो कर्तव्य बुझेर फोहोर नगर्ने हो भने, आफै सफा भइहाज्ल्छ, स्थानीय सरकार र स्थानीयलाई पनि सघाउनको लागि अनुरोध गर्छु ।’ उपाध्यक्ष हिरामाया मानन्धर (हेमा) ले सबैको साथ सहयोग आवश्यक भएको बताइन् ।

३०० औं हप्ता प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, तीर्थ लामा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता वञ्जारा लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस