आयुर्वेदिक उपचारप्रति विश्वास र सेवाग्राही बढ्दै

नौलो समाचार संवाददाता
२०८१ पौष ७, आईतबार मा प्रकाशित १३८ पटक पढिएको
आयुर्वेदिक उपचारप्रति विश्वास र सेवाग्राही बढ्दै

बनेपा /  प्राकृतिक उपचार पद्धती मानिने आयुर्वेदिक उपचार सेवा लिनेको संख्या बढ्दै गएको तथ्याकंले देखाएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेले धुलिखेलमा पत्रकारहरुसंग आयोजित अन्तरक्रियामा उक्त तथ्याकं प्रस्तुत भएको हो ।

चिकित्सालय प्रमुख डा. अर्जुन उपाध्यायका अनुसार, आर्थिक बर्ष २०७९/८० मा ३१ हजार ७ सय २१ जनाले सेवा लिएकोमा आर्थिक बर्ष २०८०/ ८१ मा चिकित्सालयबाट २९ हजार ७ सय ८७ र जिल्लास्थित अन्य आयुर्वेद औषधालयबाट १७ हजार ७ सय २३ जनाले सेवा लिएका छन् ।

चालु आर्थिक बर्षको ५ महिनाको अवधीमा मात्रै ५ हजार १ सय १ जनाले २२ हजार ९ सय ८९ पटक सेवा लिएका छन् ।  ती मध्ये १ हजार ८ सय ९८ जनाले बहिरंग सेवा, ६ हजार ६ सय ६० वटा प्रयोगशाला परिक्षण,४ हजार ५ सय ९९ जनाले पुर्वकर्म / पञ्चकर्म, ३ हजार ८ सय जनाले योग प्रशिक्षण, १ हजार १ सय ५५ जनाले अकुपन्चर, ३ सय ३७ जनाले अकुप्रेसर, ३ सय ९ जनाले कपिङ, ९ जनाले व्लड लेफ्टिङ र १० जनाले मोक्सीबुसन बिधीबाट सेवा लिएका  छन् ।

डा. उपाध्यायले सेवाका प्रकारसंगै प्रचार र विश्वास पनि बढेकाले बर्षेनी सेवाग्राहीको संख्या थपिने क्रममा रहेको बताए । ‘सेवा र विश्वास दुवै बढेको कारण सेवाग्राहीको संख्या पनि बढ्दै गएको छ,‘ चिकित्सालय प्रमुख डा. उपाध्यायले भने, ‘सञ्चार क्षेत्रमार्फत धेरैले सेवाबारे जानकारी समेत पाएका छन्, यसको प्रभाव पनि सेवाग्राहीको संख्या देखिएको छ ।’ उनले अपार्यप्त भौतिक संरचना, सिमित श्रोत र साधनका बाबजुद सेवा दिएको भन्दै यो संख्या अझै बढ्ने बताए । आयुर्वेदमा काया चिकित्सा (सामान्य चिकित्सा) विशेषज्ञ समेत रहेका डा. उपाध्यायले मापदण्ड पुरा हुने खालको संरचना तयार गर्न सकिए चिकित्सालयमा शल्यक्रिया समेत गर्न जनशक्ति तयार रहेको बताए ।

जिल्लाको धुलिखेल, दाप्चा, मंगलटार र बालुवामा रहेको आयुर्वेदिक औषधालय र बेथानचोक, भुम्लु, पनौती र मण्डनदेउपुरमा रहेका नागरिक आरोग्य केन्द्रमार्फत पनि सेवा प्रदान गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेबाट बहिरंग सेवाका साथै पञ्चकर्म, पूर्वकर्म, अक्यूपञ्चर, फिजियोथेरापीका साथै २३ किसिममका औषधी निशुल्क वितरण हुन्छ । पथ्यापथ्यनिर्देश, थेराप्युटिक योगका साथै प्रयोगशाला परीक्षण पनि हुने गरेको छ । प्रवर्धनात्मक सेवा अन्तर्गत जेष्ठ नागरिक सेवा, स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरण, योगासन, प्राणायाम, ध्यानका साथै पञ्चकर्म अन्तर्गत स्नेहन, स्वेदन, एकाङ्ग, सर्वाङ्ग सेवा उपलव्ध हुने चिकित्सालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आयुर्वेदिक उपचार प्रति मानिसहरुको चासो र विश्वास रहेको भन्दै स्थानीय तहसंग समन्वय गर्दै जिल्लामा सबै भेगमा सेवा विस्तार र सुधार गर्न अनुरोध गरे ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले वैकल्पिक चिकित्सा प्रणाली मानिने आयुर्वेदलाई ‘निर्विकल्प’ को रुपमा विकास गर्नुपर्ने भन्दै त्यसको लागि सञ्चार क्षेत्रले सघाउने प्रतिवद्धता जनाए ।

चिकित्सालयका कविराज निरिक्षक प्रताप लामा, वरिष्ठ वैद्य जानुका भट्टराई ढुंगाना लगायतले आयुर्वेद सेवा प्रति विश्वास बढ्दै गएको भन्दै यसलाई थप विस्तार गर्नको लागि सञ्चार क्षेत्रले भुमिका खेल्ने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस