काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न ‘सहजीकरण समिति’

यसअघि गठन भएको सहजीकरण समिति ‘एकपक्षीय’ भएको भन्दै विरोध
नौलो समाचार संवाददाता
२०८१ पौष ८, सोमबार मा प्रकाशित ६० पटक पढिएको
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको समस्या समाधान गर्न ‘सहजीकरण समिति’
तस्वीर श्रोतः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)को ९८ औँ सभा बैठकले विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको आपसी समस्याबारे समाधानसहितको प्रस्ताव तयार गर्न ‘सहजीकरण समिति’ गठन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय सहजीकरण समितिमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा भोला थापा, स्कुल अफ मेडिकल साइन्सेसका डीन प्रा.डा मनोज हुमागाईँ, स्कुल अफ लका डीन डा. ऋषिकेश वाग्ले तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, प्रशासकीय निर्देशक डा. विराजमान कर्माचार्य र अनुसन्धान निर्देशक प्रा.डा राजीब श्रेष्ठ छन् ।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले थप गृहकार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ ४ गते बस्ने सिनेट बैठकमा विधिवत् प्रतिवेदन पेस गर्न समितिलाई अख्तियारी दिएको थियो ।

विसं. २०५९ चैत १९ गतेको आपसी सम्झौताका आधारमा सहकार्यमा रहेका ती संस्थाबीच बेमेल देखिदै आएको छ । सम्झौतामा यी दुई संस्थाविच ५० बर्ष सहकार्य गर्ने उल्लेख थियो । ५० बर्षसम्म धुलिखेल अस्पतालाई केयूको शिक्षण अस्पतालको रुपमा विकास र प्रयोग गर्ने सहमति भएको थियो ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयमा धुलिखेल चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्न आवेदन गर्ने २०८० असोज १८ गते बसेको अस्पताल कार्यकारी समितिको निर्णय २०८० कार्तिक २४ गते बसेको अस्पताल सभाले अनुमोदन समेत गरेर २०८० मंसिर १ गते पत्र मार्फत केयूलाई जानकारी गराइसकेको छ ।

यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भदौ ९ गते केयू र धुलिखेल अस्पतालबीचको विवाद समाधान गर्न ५ सदस्यीय सहजीकरण समिति गठन गरेको थियो । समितिमा काठमाडौं विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, पुर्व मन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल बास्कोटा, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठ, प्रा.डा. सिताराम अधिकारी, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोककुमार व्याञ्जु थिए । तर समिति सहभागिताको हिसाबले ‘एकपक्षीय’ भएको भन्दै विरोध भएपछि समितिले काम अघि बढाएको थिएन ।

यता, विश्वविद्यालयको पछिल्लो दीक्षान्तको ग्रेस लिष्टमा अनुत्तिर्ण सात विद्यार्थीको नाम समावेश भएको पाइएपछि बैठकले ‘ग्रेस लिष्ट सच्याउने’ निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस