आत्महत्या न्यूनीकरण गर्न समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गरिने

नौलो समाचार संवाददाता
२०८१ पौष ९, मंगलबार मा प्रकाशित १३७ पटक पढिएको
आत्महत्या न्यूनीकरण गर्न समुदायस्तरमा सचेतनामूलक कार्यक्रम गरिने

धुलिखेल / जिल्लामा आत्महत्याको दर बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विपदपछि आत्महत्याको जोखिम बढ्न सक्ने भन्दै समुदायस्तरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने निर्णय उनीहरुले गरेका छन् ।

नसर्ने रोग तथा मानसिक रोग रोकथाम तथा न्युनिकरण सम्बन्धी जिल्लास्तरीय समन्वय समितिको बैठकले सार्वजनिक स्थलहरुमा आत्महत्या रोकथाम सम्बन्धी तथा राष्ट्रिय आत्महत्या रोकथाम गर्न हेल्पलाइन ११६६ सँग सम्बन्धी होर्डिङ बोर्ड राख्ने, जिल्लास्थित कार्यालय प्रमुखहरुको मासिक बैठकमा आत्महत्या सम्बन्धी जिल्लाको अवस्था र रोकथामका उपायहरुका बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले मानसिक समस्या नै आउन नदिने खालका कार्यक्रम गर्नुपर्ने तर्क गरे । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले मानसिकता कुनै पनि बेला परिवर्तन हुन सक्ने भन्दै बढ्दो आत्महत्याको कारण पत्ता लगाउन सबै पक्ष लाग्नुपर्ने बताए । पनौती नगरपालिका उपप्रमुख गिता वञ्जाराले विकास बजेट कटाएर पनि मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विपदपछि मानसिक स्वास्थ्यमा भयावह स्थिती आउनसक्ने भन्दै सबै क्षेत्र लाग्नुपर्ने तर्क गरे । मनोरोग विशेषज्ञ डा. बासुदेव कार्कीले विपदपछि धेरैमा मानसिक समस्या हुन सक्ने भन्दै मनोसामाजिक परामर्श आवश्यक भएको बताए ।

एक तथ्याकं अनुसार, काभ्रे जिल्लामा गत बर्ष मात्रै १ सय ३७ जनाले आत्महत्या गरेका छन् । ती मध्ये १२ बालिका र ७ बालक छन् । जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले आत्महत्या न्यूकिकरणे लागि सामुहिक प्रयास र साझा धारणा बनाउन छलफल गरिएको बताइन् ।

मंगलबार नै जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लामा जिपिएस जडान नभएका एम्बुलेन्सहरुमा जिपिस जडान गर्न तथा हटलाइन नम्बर १०३ को सञ्चालनका लागि सहजीकरण गरिदिन स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रसंग अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला सबै स्थानीय तहले सञ्चालन गरेका सबै एम्बुलेन्समा अनिवार्य रुपमा जिपिएस जडान गरिनुपर्ने, एम्बुलेन्सका चालकहरूका लागि तालिम सञ्चालन गर्न पहल गर्ने निर्णय बैठकले गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समेत रहेका राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक डा. प्रकाश बुढाथोकीले अस्पताल पूर्वको सेवाले ज्यान बचाउन सक्ने भन्दै आफूलाई पनि एम्बुलेन्स आवश्यक पर्न सक्छ भन्ने सोचेर काम गर्न सरोकारवालाहरुलाई अनुरोध गरे ।

मंगलबार नै सवारी दुर्घटना रोकथाम तथा नियन्त्रण सम्बन्धी समितिको बैठकले दुर्घटना न्यूनीकरणका लागि कार्ययोजना बनाउने र प्रभावकारी कार्यान्वयन गर्ने, सवारी दुर्घटना जोखिम न्यूनीकरणका लागि वृहत सचेतना आयोजना गर्ने, जोखिम क्षेत्र तथा सम्भावित दुर्घटनास्थलमा जनचेतनामूलक सन्देश सहितको होर्डिडवोर्ड राख्ने र सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई सडक दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखीकरण सञ्चालन गर्ने निर्णय गरेको जनस्वास्थ्य कार्यालय काभ्रेका पद्मराज कैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस