धुलिखेल / धुलिखेल खानेपानी उपभोक्ता समितिले उपभोक्ताबाट ५ हजारका दरले उठाउने भनेको ‘अग्रिम महशुल’ उपभोक्ताको चर्को ‘विरोध’पछि ‘स्वेच्छिक’ बनाइएको छ ।
गत असोज १० देखि १२ सम्मको अविरल बर्षापछिको बाढी र पहिरोको कारण क्षति गरेको संरचना मर्मत गर्न, प्रभावित क्षेत्रमा सहयोग गर्न आवश्यक रकम जुटाउन उपभोक्ता समितिले विशेष साधारण सभामा गरेको प्रस्तावमा उपभोक्ताहरुले सहमति नजनाएपछि त्यसलाई स्वेच्छिक बनाइएको उपभोक्ता समितिका सचिव श्याम दर्शन गणेजुले जानकारी दिए ।
बाढी पहिरोले खानेपानीको मुहान लगायत मुख्यपाइप लाइन मर्मतको लागि तत्काल १९ लाख ७९ हजार ३ सय ७५ खर्च भएको र पक्की भौतिक संरचना निर्माण तथा संरक्षणको लागि प्रारम्भिक लागत अनुमान ३ करोड ५१ लाख रुपैयाँ मध्ये खानेपानी र धुलिखेल नगरपालिकाले बेहोर्ने भनिएको ६० प्रतिशत रकमको जोहो गर्न अग्रिम भुक्तानी प्रस्ताव गरिएको थियो । तर उपभोक्ताबाटै यसको विरोध भएपछि सभाले यसलाई स्वेच्छिक बनाउने निर्णय गरेको हो ।
सभाले खानेपानी महशुलमा २५ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । प्राकृतिक प्रकोप कोष खडा गर्ने, पनौती नगरपालिका १२ नं. वडा कार्यालयलाई दिएको अनुदान रकम अनुमोदन गर्ने, आ.व २०८१/०८२ को लागि थप बजेट स्विकृती, कलाती भूमिडाँडालाई दिईदै आएको वार्षिक अनुदान वृद्धि गर्ने लगायतका निर्णय साधारणसभाले गरेको छ ।
विशेष साधारणसभामा पनौती नगरपालिका र पनौती नगरपालिका वडा नं. १२ संग भएको सम्झौताबारे जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस