विपदपछि पनौती नगरले संशोधन गर्यो बजेट, विपदजन्य कृयाकलापको लागि १९ करोड ७३ लाख छुट्यायो

नौलो समाचार संवाददाता
२०८१ पौष ११, बिहिबार मा प्रकाशित १९ पटक पढिएको
विपदपछि पनौती नगरले संशोधन गर्यो बजेट, विपदजन्य कृयाकलापको लागि १९ करोड ७३ लाख छुट्यायो

पनौती /  गत असोज १० देखि १२ गतेसम्मको अविरल बर्षापछिको बाढी र पहिरोमा बढी प्रभावित पनौती नगरपालिकाले चालु आर्थिक बर्षको बजेट संशोधन गरेको छ ।

पन्ध्रौ नगरसभाबाट आर्थिक वर्ष २०८१/८२ का लागि १ अरब ६० करोडको बजेट स्विकृत गरेको पनौती नगरपालिकाले ४६ करोड बराबरका योजना कटौती गरी १ अर्व १४ करोडको संशोधित बजेट पारित गरेको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।

आन्तरिक श्रोततर्फको आय अनुमान ५७ करोड ७३ लाख ७५ हजार घटाइ विपदजन्य क्रियाकलापहरूलाइ सम्वोधन गर्ने गरी १९ करोड ७३ लाख ७५ हजार बराबरका कार्यक्रमहरु सभामा प्रस्तुत भएकोमा पारित भएको छ ।

उपप्रमुख गिता वञ्जाराले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को लागि स्विकृत बजेट तथा कार्यक्रममा पुनरावलोकन सम्बन्धी प्रस्ताव, वडा अध्यक्ष जयकुमार तामाङले प्रस्ताव गरेको आर्थिक ऐन, २०८१ संशोधनसम्बन्धी प्रस्ताव, वडा अध्यक्ष पुरुषोतम अधिकारीले प्रस्तुत गरेको १५ औं नगर सभा पश्चात हालसम्म कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरुको अनुमोदन सम्वन्धी प्रस्ताव नगर सभाले पारित गरेको छ ।

नगरसभामा १२ वटै वडाका अध्यक्षले आफ्नो धारणा राखेका थिए । नगर सभामा उठेका विषयबस्तुलाई नगर प्रमुख भण्डारीले सम्बोधन गरेका थिए ।

विपदका कारण पनौतीमा १ जना विदेशी नागरिकसहित १९ जनाको निधन भएको थियो । १ जना अझै बेपत्ता छन् । ५ सय ८६ वटा घर पूर्ण क्षति भएका छन् भने ९ सय ४४ वटा घर आंशिक क्षति भएका छन् ।

प्रतिक्रिया दिनुहोस