पत्रकार महासंघ काभ्रेले बनायो सल्लाहकार परिषद्, ३ बर्षे कार्ययोजना बनाइने

नौलो समाचार संवाददाता
२०८१ पौष १३, शनिबार मा प्रकाशित २२५ पटक पढिएको
पत्रकार महासंघ काभ्रेले बनायो सल्लाहकार परिषद्, ३ बर्षे कार्ययोजना बनाइने

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले शाखालाई सल्लाह, सुझाव र मार्गदर्शन प्रदान गर्न सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको  छ ।

विनोदकुमार न्यौपानेको अध्यक्षतामा शनिवार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पूर्वअध्यक्षहरु भोजराज तिमिल्सना, इश्वरीप्रसाद ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिप्रसाद तिमल्सिना रहेको सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको हो ।

बैठकले शाखाको आगामी ३ बर्षे कार्ययोजना निर्माण गर्न अध्यक्ष न्यौपानेकै संयोजकत्वमा पदाधिकारी सम्मिलित ७ सदस्य कार्यदल गठन गरेको छ ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले निर्णय गरेर अनुमोदनको लागि केन्द्रमा सिफारिस गरेका नयाँ सदस्यहरुको अभिलेख केन्द्रीय समिति र कार्यालयसंग माग गर्ने निर्णय पनि शाखा बैठकले गरेको छ ।

१२ औं जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने निवर्तमान कार्यसमितिका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनासहितको कार्यसमिति, पूर्वअध्यक्ष भोजराज तिमल्सिनाको संयोजकत्वमा पूर्वअध्यक्ष महेशराज पौडेल र अधिवक्ता महेश कुँवर सदस्य रहेको निर्वाचन समिति, निर्वाचनमा खटिने प्रतिनिधी, प्राविधिक, स्वंयमसेवक, सदस्यहरु, सुरक्षा निकाय लगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

२०८१ मंसिर २८ गते सम्पन्न अधिवेशनले विनोदकुमार न्यौपानेको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस