बाढी पहिरो प्रभावित र आगलागी भएको विद्यालयलाई रेडक्रसमार्फत सहयोग

नौलो समाचार संवाददाता
२०८१ पौष १५, सोमबार मा प्रकाशित १८८ पटक पढिएको
बाढी पहिरो प्रभावित र आगलागी भएको विद्यालयलाई रेडक्रसमार्फत सहयोग

दाप्चा /  नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले नमोबुद्ध नगरपालिकाका  बाढी पहिरो प्रभावित २ जना र एक विद्यालयलाई सहयोग गरेको छ ।

बनेपास्थित सोरा इन्टरनेशनल एजुकेसन इन्ष्टिच्युटका सञ्चालक प्रकाश श्रेष्ठमार्फत जापानको इवाते उएनो ल एण्ड विजनेस कलेजले पठाएको ६१ हजार ५ सय मध्येबाट नमोबुद्ध वडा नं ७ र ८ का प्रभावितलाई १५ हजारका दरले सहयोग गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी शाखाको सिफारिसमा नमोबुद्ध ७ का बाढी प्रभावित एकल तथा जेष्ठ नागरिक ज्ञानीमाया श्रेष्ठ र नमोबुद्ध ८ का मृगौला रोग पीडित झिल्के सार्कीलाई नगद १५ हजार रुपैयाँसहित राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा सभापति देवेन्द्र भैल, मन्त्री राजु सिग्देल, कार्यसमिति सदस्य बिलबहादुर श्रेष्ठ, डराउनेपोखरी उपशाखा सभापति नविन अधिकारी, नेपाल रेडक्रस सोसाइटी काभ्रेका कार्यालय प्रमुख त्रिरत्न राजबहाकसहितका रेडक्रसकर्मीले सहयोग हस्तान्तरण गरेका थिए ।

रेडक्रसले आगलागीबाट क्षति भएको नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित गणेश प्राथमिक विद्यालयलाई ८ थान म्याट सहयोग गरेको छ । विद्यार्थीको बसाइ व्यवस्थापनमा सहज होस् भनेर सहयोग गरिएको सभापति भैलले बताए ।

 

प्रतिक्रिया दिनुहोस