पनौती / वाढी पहिरोबाट प्रभावित केही क्षेत्रमा पनौती नगरपालिकाले सम्पति करमा शतप्रतिशत छुट निर्णय गरेको छ ।
वडा नं १ का अध्यक्ष जयकुमार तामाङले प्रस्ताव गरेको आर्थिक ऐन, २०८१ संशोधनसम्बन्धी प्रस्ताव १६ औं नगर सभाले पारित गरेको थियो । संशोधन पछि आर्थिक वर्ष २०८१/०८२ का लागि केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको नगर प्रमुख रामशरण भण्डारीले बताए । राजश्व छुटको निर्णय कार्यान्वयन गर्दा सम्वन्धित वडा समितिबाट अनुगमन गरी वाढी पहिरोपीडित भूमि (क्षेत्र) भएको किटानी सिफारिस भएपछि मात्र कार्यान्वयन गरिने उनले बताए ।
वडा नं. १ मानेदोभान र न्यूरेखोला क्षेत्र, वडा नं. २ को साविक कुशादेवी गा.वि.स. वडा नं.५ र ६ का सबै क्षेत्र, वडा नं. ८ को बगर क्षेत्र, वडा नं. १० को सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं. ११ को ख्याक थुम्की, डाँडागाउँ, नेपाने क्षेत्र, वडा न १२ को पूरै क्षेत्रमा कर छुट गरिएको हो । आर्थिक वर्ष २०८१/०८२ सम्मको अन्य सम्पूर्ण कर राजस्व भुक्तान गरिसकेकाले यो सुविधा पाउने नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि लाग्ने सम्पत्तिकर बुझाई सकेका तर यस व्यवस्था बमोजिम छुट पाउने क्षेत्र र व्यक्तिहरुका हकमा पेश हुने बिल रसिद प्रमाणका आधारमा आगामी आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति करमा हिसाब मिलान गरिनेछ ।
साधारण निर्माणमुखी रोडा ढुंगा उद्योगहरुबाट प्रयोग भईरहेको जग्गामा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि लाग्ने सम्पत्ति करमा ५० (पचास) प्रतिशत छुट दिने निर्णय पनि नगर सभाले गरेको छ । वाढि पहिरोका कारणबाट उत्पन्न प्रकोप र समसामयिक अन्य अवस्थालाई विचार गरी आर्थिक वर्ष २०८१/०८२ का लागि करका समसामयिक विषयमा निर्णय गर्ने अधिकार पनौती नगर कार्यपालिकामा प्रत्यायोजन गर्ने निर्णय पनि नगर सभाले गरेको छ ।
प्रतिक्रिया दिनुहोस