अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

नौलो समाचार संवाददाता
२०८१ पौष १९, शुक्रबार मा प्रकाशित १६४ पटक पढिएको
अमर प्राविका विद्यार्थीलाई रोटरी क्लव अफ काभ्रे बनेपाले सहयोग गर्यो न्यानो कपडा, झोला, स्टेसनरी र सरसफाइका सामान

चुहाने /  रोटरी क्लव अफ काभ्रे  बनेपाले नमोबुद्ध नगरपालिका वडा नं ४, चुहानेस्थित अमर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ ।

आइसिडी नेपाल समेतको सहयोगमा क्लवले विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट), न्यानो कपडा (स्वेटर, टोपी), झोला, स्टेसनरी, खानेपानी बोक्न बोत्तल, साबुन, मञ्जन, ब्रससहितका सामाग्री वितरण गरेको हो ।

रोटरी क्लव अफ काभ्रे बनेपाका अध्यक्ष श्यामकुमार तिमल्सिना, पूर्व अध्यक्षहरु रघुनाथ घिमिरे, रामप्यारी बज्राचार्य, सुर्यप्रभा शाक्य, प्रेसिडेन्ट इलेक्ट सरिता शाक्य, सहकोषाध्यक्ष महेश कायस्थ, आइसिडी नेपालका सचिव विलबहादुर श्रेष्ठ, डा. विप्लप अधिकारी, भीमप्रसाद बञ्जारासहितको टोली सहयोग सामाग्री लिएर विद्यालय पुगेका थिए ।

नमोबुद्ध नगरपालिका वडा नं ४ का अध्यक्ष अर्जनुबहादुर कार्की र त्यहाँ उपस्थित रोटरीयनहरुले सहयोग हस्तान्तरण गरेका थिए ।

नमोबुद्ध नगरपालिका वडा नं ४ का अध्यक्ष अर्जनुबहादुर कार्कीले ग्रामिण भेगका विद्यालयमा अनेक खालका आवश्यकता र अभाव हुनाले आफूले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै सामाजिक संघसंस्थालाई पनि सहयोग आव्हान गरे ।

रोटरी क्लव अफ काभ्रे बनेपाका अध्यक्ष श्यामकुमार तिमल्सिनाले क्लवका सदस्यहरुबाट उठेको रकमबाट रोटरीले सहयोग गर्ने गरेको भन्दै पढाई छोड्ने बालबालिकालाई विद्यालय फर्काउन र अध्ययनरत बालबालिकालाई विद्यालयमा नै टिकाउन यस्ता सहयोग निरन्तर  रहने बताए ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर लामा, प्रधानाध्यापक सुर्यबहादुर कार्की, सहायक प्रधानाध्यापक नविन अधिकारी लगायतले विद्यालयमा पुस्तकालय, कम्प्युटर, प्रिन्टर जस्ता अत्यावश्यक सामान अभाव भएको भन्दै सहयोगको अपेक्षा गरे । रोटरी क्लव अफ काभ्रे बनेपाबाट प्राप्त सहयोगप्रति विद्यालयले आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस