बनेपा / नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको नवनिर्वाचित कार्यसमितिले आगामी ३ बर्षको कार्ययोजना तयार गरेको छ ।
शाखा अध्यक्ष विनोदकुमार न्यौपाने नेतृत्वको कार्यसमिति, शाखाका पूर्वअध्यक्ष एवं सल्लाहकार भोजराज तिमिल्सना, इश्वरीप्रसाद ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिप्रसाद तिमल्सिना, प्रेससम्वद्ध संघसंगठनका अध्यक्ष एवं प्रतिनिधीको उपस्थितीमा पनौती वडा नं ११ स्थित थुम्की रिसोर्टमा सम्पन्न रणनीतिक योजना कार्यशालाले ३ बर्षभित्र संस्थागत विकास, क्षमता अभिवृद्धि, कोष निर्माण, सहकार्य लागयतका क्षेत्रमा गरिने महत्वपूर्ण कामको खाका तयार गरेको हो ।
१६ बुँदे कार्ययोजनामा भवन निर्माणलाई ३ महिनाभित्र पूर्णता दिने, महासंघको निर्माणाधिन वेवसाइट ३ महिनाभित्र नै पुरा गरी पुराना अभिलेख, सदस्यहरुको डिजिटल प्रोफाइलसहित सम्पूर्ण गतिविधि र जानकारीहरु प्रकाशन गरिने उल्लेख छ । हाल ५ लाख रुपैयाँ रहेको कल्याणकारी कोषलाई तीन वर्षभित्र १५ लाख रुपैयाँको बनाउने, ६५ वर्ष पुगेका जेष्ठ पत्रकारका लागि वृत्ती प्रदान गर्न कोष स्थापना गर्ने, जिल्लास्थित सञ्चार माध्यमको संस्थागत विकास, व्यवसायिक उन्नयनको लागि महासंघबाट समन्वयकारी भूमिका निर्वाह गर्ने, लोककल्याणकारी विज्ञापन लगायतका बिषयमा समन्वय गर्ने शाखाले जनाएको छ ।
वार्षिक रुपमा कम्तीमा दुईपटक विभिन्न संघसंस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा पत्रकारहरुका लागि क्षमता अभिवृद्धिको लागि विधागत ९आर्थिक पत्रकारिता, खोज पत्रकारिता, रेडियो, टिभी एवं अनलाइन पत्रकारिता, मल्टिमिडिया लगायत० तालिम सञ्चालन गर्ने, ऐतिहासिक दस्तावेज, पत्रिका एवं पुस्तकसहितको पुस्तकालय स्थापना गर्ने, स्थापनादेखि हालसम्म भएका सम्पूर्ण बैठकका निर्णयहरुको अभिलेखिकरण गर्ने, विगतमा प्रदान गर्दै आएका पुरस्कार एवं सम्मान कार्यक्रमलाई निरन्तरता दिइने, जिल्लाका सबै स्थानीय सरकारहरुसँगको सहकार्यमा जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुसंग स्थानीय तहका सबालहरुमा अन्तरक्रिया, अभिमुखिकरण, तालिम लगायतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
पत्रकारिता क्षेत्रमा महिला तथा दलित, जनजाती लगायतका समुदायको उपस्थिती बढाउन सरोकारवालाहरुसंगको सहकार्यमा कार्यक्रमहरु गर्ने, सञ्चारिका समूह, क्रियाशिल पत्रकार महिला लगायतका पत्रकार महिलासँग सम्वन्धित संघसंस्थासँगको सहकार्य र समन्वयमा तालिम, अन्तरक्रिया लगायतका विशेष कार्यक्रम सञ्चालन गर्ने, पत्रकारसँग सम्वन्धित विभिन्न संगठनसँगको सहकार्य र समन्वयलाई विशेष जोड दिँदै समय–समयमा छलफल गर्ने उल्लेख छ ।
जिल्लामा सञ्चालित सञ्चारमाध्यममा जनशक्ति व्यवस्थापन, रोजगारी सिर्जना, खोज, अनुसन्धान लगायतका कार्य गर्न आमसञ्चार तथा पत्रकारिता पढाई हुने शैक्षिक संस्थाहरुसंग सहकार्य अघि बढाउने, खोज, अनुसन्धान र लेखन क्षमता अभिवृद्धिको लागि लेखनवृति, प्रोत्साहन रकम प्रदान गर्ने र विभिन्न संघसंस्थासंगको सहकार्यमा पत्रकारको दुर्घटना विमा, स्वास्थ्य विमा लागू गर्ने कार्ययोजनामा छ ।
प्रतिक्रिया दिनुहोस