धुलिखेल / बागमती प्रदेश सरकारले कानून बनाउन ढिलाई गर्दा बिषादी व्यवस्थापन र नियमनमा समस्या भएको सरोकारवालाले गुनासो गरेका छन् ।
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले आइतबार आयोजना गरेको विषादी व्यवस्थापन र नियमनसम्बन्धी अन्तरक्रियामा बोल्ने अधिकाशं व्यवसायी र सरोकारवालाले प्रदेश कानूनबारे चासो र चिन्ता व्यक्त गरेका हुन् ।
संघीय सरकारले बनाएको जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ र जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ ले विषादी छर्कने व्यवसायी, विषादीको खुद्रा विक्रेताको दर्ता, नविकरण तथा खारेजीको काम प्रदेशले गर्ने उल्लेख छ । तर, प्रदेशले समयमा नै कानून नबनाउन यसको व्यवस्थापन र नियमनमा समस्या परेको गुनासो उनीहरुको छ ।
विषादी व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य सुवास धितालले प्रदेशले कानून नबनाउँदा समस्या भएको भन्दै अनुमतिपत्र (लाइसेन्स) को म्याद गुज्रिएका व्यवसायीलाई एक पटकलाई छुट दिनुपर्ने बताए । विषादी व्यवसायी सरोज सापकोटा, शम्भु पराजुलीले लाइसेन्स नविकरणको समस्या भएको भन्दै प्रदेश कानूनबारे जिज्ञासा राखेका थिए ।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीले बागमती प्रदेशले कानूनको मस्यौदा तयार गरिरहेको जानकारी पाएको भन्दै छिट्टै पाउने विश्वास व्यक्त गरे । उनले जीवनाशक विषादीको प्रयोगको तथ्याकं प्रस्तुत गर्दै यसको असर र व्यवथापन र कानूनी व्यवस्थाबारे जानकारी गराएका थिए । विषादी प्रयोग कम गर्न जिल्लाका ८ स्थानमा एकीकृत शत्रुजीव मित्रजीव व्यवस्थापन पाठशाला सञ्चालन गरिरहेको जानकारी दिँदै उनले जनशक्ति अभावका कारण द्रुत विषादी परिक्षण भने गर्न नसकिएको बताए ।
सांग्रिला एग्रोभेट बनेपाका सञ्चालक रमण मानन्धरले जैविक विषादीको बारेमा व्यवसायी र कृषकलाई बुझाउन नसक्दा खेर गइरहेको दुखेसो पोखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले जलवायु परिवर्तन, वातावरण, माटोको उर्वरा ह्रास भएका कारण विषादी प्रयोग नगरी उत्पादन नहुने अवस्था बनेको भन्दै विषादीको प्रयोग र यसका असरबारे कृषकलाई पर्याप्त जानकारी दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले विगतको तुलनामा काभ्रेमा विषादीको प्रयोग कम हुँदै गएको तथ्याकंहरुले देखाएको भन्दै अझै कम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस