बनेपा / नेपाली कांग्रेस काभ्रेले बार्षिक कार्यतालिका पारित गरेको छ ।
बुधवार बसेको जिल्ला कार्यसमिति बैठकले कार्ययोजनासहितको तालिका पारित गरेको हो ।
कार्यतालिका अनुसार, माघ मसान्तसम्म पार्टीका सबै तहका कार्यसमितिलाई पुर्णता दिने, काभ्रे–काठमाडौं सम्पर्क समिति र पालिका सम्पर्क समिति गठन तथा पूर्णता दिने, फाल्गुन मसान्तभित्र जनप्रतिनिधीसंग सम्वाद कार्यक्रम सञ्चालन गर्ने र सबै भातृ संस्थाको पालिकास्तरमा समिति गठन, पुर्णता दिने तय भएको छ । पार्टीका संस्थापकहरुको स्मृती दिवसमा मनाउने तय गरेको काभ्रे कांग्रेसले चैत्र मसान्तभित्र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, सुख दुखमा कांग्रेस अभियान चलाउने र अभिलेख व्यवस्थित गर्ने निर्णय गरेको जिल्ला सचिव गुणराज मुक्तानले जानकारी दिए ।
बैठकले रिक्त जिल्ला सदस्य पदमा पूर्व जिल्ला सदस्य इन्द्रबहादुर खड्का, पेमा नाम्गेल लामा, प्रल्हाद थापा र हेमा मानन्धरलाई मनोनित गरेको छ । बैठकले नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समितिको संयोजकको जिम्मेवारी बद्रिराज तिमल्सिनालाई तोकेको छ । नेपाल लोकतान्त्रिक खेलकुद महासंघको जिल्ला अध्यक्ष मनोनित भएका पनौतीका पुरुषोतम कर्माचार्यलाई बधाई ज्ञापन गरिएको थियो ।
नेपाली कांग्रेसले सञ्चालन गरेको १०० दिने विशेष अभियान अन्तर्गत १३ वटै पालिकामा खटिएका जिल्लाका पदाधिकारी र नेताहरुले ती स्थानमा भएका गतिविधीबारे बैठकमा जानकारी गराएका थिए । सबै तहमा अभियान, कृयाशिल सदस्यता वितरण र सम्मेलन सकेर चैत्र मसान्तभित्रमा जिल्ला सम्मेलन गर्ने तय भएको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बताए । बैठकलाई सम्बोधन गर्दै सभापति लामाले सबै नेता, कार्यकर्ता पार्टी विधान अनुसार सञ्चालन भए कुनै समस्या नहुने भन्दै उनले पार्टीका गतिविधीमा समय र ध्यान दिन सबैलाई निर्देशन दिए ।
घुम्ती बैठक गर्ने निर्णय गरेको कांग्रेस काभ्रेले फाल्गुन महिनाको नियमित बैठक खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस