धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो ‘स्वस्थ शहर’को मान्यता

नौलो समाचार संवाददाता
२०८१ माघ ४, शुक्रबार मा प्रकाशित ८ पटक पढिएको
धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो ‘स्वस्थ शहर’को मान्यता

धुलिखेल / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो स्वस्थ शहरको मान्यता प्रदान गरेको छ ।

शुक्रवार स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा प्रमाणपत्र र ५ हजार अमेरिकी डलर हस्तान्तरण गरियो । विश्व स्वास्थ्य सगंठनका नेपाल प्रमुख राजेश साम्भाजिराव पाण्डबले धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा.सुभाजी गुडले २०८१ भदौ महिनामा धुलिखेल नगरपालिकालाई नेपालको पहिलो ‘स्वस्थ शहर’ घोषणा गरेका थिए । नगरपालिकाले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी अनुगमन र मुल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनले ६२ दशमलव४८ अंक प्रदान गरी दक्षिण पुर्व एशियाको ‘दोश्रो तहको’ स्वस्थ शहर घोषणा गर्ने निर्णय सार्वजनिक गरेको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकहरुको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोगको नियमित उपचार, सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्य उपचारमा गरेको प्रगतिलाई आधार मानेको छ ।

नगर प्रमुख व्याञ्जुले नगरपालिकाले स्रहशाब्दी दिगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको बताउँदै विकास भनेको पूर्वाधार निर्माण मात्रै हो भन्ने बुझाई भएका आम नागरिक र जनप्रतिनिधीहरुलाई विश्वका सुचक, मापदण्ड र नागरिकहरुका साना–साना विषयलाई ध्यान दिएर काम गर्नुपर्ने पाठ समेत सिकाएको बताए ।


हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक विकास देवकोटाले देशभरका पालिकाहरुलाई स्वस्थ शहर बनाउन खोजेको भन्दै धुलिखेल नगरपालिकाले प्राप्त गरेको अवार्डले नेपालका पालिकाहरुमा उपलब्ध स्वास्थ्य सेवाको गुणस्तर तथा उपलब्धता जाँच भएकाले क्रमशः अन्य पालिकाहरुलाई यसतर्फ उन्मुख गराउन सरकार प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपती श्रेष्ठ, धुलिखेल नगरपालिका सामाजिक विकास समितिका संयोजक रहेका वडा नम्बर ३ का अध्यक्ष गणेश आचार्य, धुलिखेल नगरपालिका लेखा अधिकृत भवानीप्रसाद मिश्र, शाखा प्रमुख सन्दिप केसी, स्वास्थ्य शाखाका शरदचन्द्र थापा, स्वस्थ शहर कार्यक्रमका योजनाकार तथा समाजसेवी दिर्घराज बरुण लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस