डढेलो वस्तीमा छिर्न नदिन सुरक्षाकर्मी परिचालन, डढेलो लगाउनेलाई कैद र जरिवाना

नौलो समाचार संवाददाता
२०८१ माघ १०, बिहिबार मा प्रकाशित ५७ पटक पढिएको
डढेलो वस्तीमा छिर्न नदिन सुरक्षाकर्मी परिचालन, डढेलो लगाउनेलाई कैद र जरिवाना
खानीखोला र बेथानचोक गाउँपालिकाको सिमाना थामको लेक क्षेत्रमा लागेको डढेलो । तस्वीर : कमल नेपाल ।

धुलिखेल / जिल्लाका विभिन्न स्थानमा डढेलो नियन्त्रण गर्न सुरक्षाकर्मीसहितको प्राविधिक टोली खटाइने भएको छ ।

खानीखोला र बेथानचोक गाउँपालिकाको सिमाना थामको लेक क्षेत्रमा लागेको डढेलो बढ्दै गएपछि मानवबस्ती जोगाउनको लागि नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरीसहितका सुरक्षाकर्मी र प्राविधिक जनशक्ति समेत परिचालन गर्ने निर्णय गरिएको हो ।

जिल्ला वन सुरक्षा समितिको बैठकले जोखिममा रहने माववस्ती जोगाउन र जोखिम न्यूनिकरणको लागि लागि सुरक्षाकर्मी, वन कर्मचारी, वन समुह परिचालन गर्ने, विभिन्न वन क्षेत्रमा अग्नीरेखा (फायर लाइन) बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

डिभिजन वन कार्यालय काभ्रेका सूचना अधिकारी सरिता लामाका अनुसार, वन डढेलो लगाउने व्यक्ति पहिचान गरी कानूनी कारवाही गर्ने, वन कार्यालयको संयोजकत्वमा सबै स्थानीय तह, सुरक्षा निकाय, वन उपभोक्ता महासंघ र सम्बन्धित सरोकारवालासंग वन डढेलो नियन्त्रण पुर्वतयारी बैठक गर्ने निर्णय बैठकले गरेको छ ।

जिल्लाको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमानामा पर्ने माहाभारत श्रृंखलाको थामलेक क्षेत्रमा रहेको सामुदायिक वनमा मंगलबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । भीरालो संरचनामा लागेको डढेलो निभाउन परिचालन हुन समेत कठिन भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।

बेथानचोक गाउँपालिकाले एक सूचना जारी गरेर वडा नं ३ स्थित नारायणस्थान क्षेत्र आसपास डढेलो लागेकोले यात्रा नगर्न सचेत गराएको छ ।

यता, भूम्लु गाउँपालिका वडा नं ४ स्थित धारापानी सामुदायिक वन र वडा नं ६ स्थित चापानीगढी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आइसकेको सव डिभिजन वन कार्यालय चौवासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस