काभ्रेपलाञ्चोक जिल्ला अदालतको अर्ध बार्षिक प्रगतिबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८१ माघ ११, शुक्रबार मा प्रकाशित ८ पटक पढिएको
काभ्रेपलाञ्चोक जिल्ला अदालतको अर्ध बार्षिक प्रगतिबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

धुलिखेल/ काभ्रेपलाञ्चोक जिल्ला अदालतले संचारकर्मीसंग अर्ध बार्षिक प्रगतिबारे अन्तरक्रिया गरेको छ ।

शुक्रवार एक कार्यक्रम गरेर जिल्ला अदालतले चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा भएका मुद्धा दर्ता, फर्छ्यौट, तामेली लगायतका विवरण प्रस्तुत गरेको हो ।

स्रेस्तेदार कर्णबहादुर राईका अनुसार, चालु आर्थिक बर्षको लागि अनुमानित ३ हजार ५ सय ६९ मुद्धा मध्ये ६ महिनाको अवधीमा २ हजार ३ सय ८५ मुद्धा दर्ता भएका छन् । १ हजार २८ थान नयाँ दर्ता र जिम्मेवारी सरेका १ हजार ३ सय ५७ मुद्धा समेतबाट ८ सय २१ थान मुद्धा फर्छ्यौट भएका छन् । यो कुल लगतको ३४ दशमलव ४२ प्रतिशत हो ।

मुद्दाको मार्ग (सरल, सामान्य, विशेष र अभियान) अनुसारको फाँट निर्धारण र स्वचालित पेशी व्यवस्थापन गर्दा केही अलमल भएको, न्यायाधीशहरुको सरुवा तथा तालीम, कानून व्यवसायीहरुको राष्ट्रिय सम्मेलन, दशैं, तिहार, छठ लगायतको पर्वहरुको विदा, कतिपय धेरै वादीप्रतिवादीहरु रहेको मुद्दामा वादीप्रतिवादीहरुले तारेख गुजार्ने, कानून व्यवसायीले पेशी स्थगित गर्ने, ठूलो संख्यामा कर्मचारीहरुको सरुवा तथा काज भएको, बाहिरी जिल्लाको म्याद तामेलीमा विलम्व हुने गरेको, त्यसमा वेपत्ते व्यहोराले तामेली हुँदा अझ ढिलाई हुने गरेको, परीक्षण प्रतिवेदन समयमा नआउने, सरकारवादी मुद्दामा जाहेरवाला, सरकारी साक्षी, पक्राउपूर्जी तथा म्याद तामेली, वतन खुलाउने कार्यमा विलम्व हुने गरेको, परीक्षण प्रतिवेदन समयमा नआउने समस्याले मुद्धा समयमा फर्छ्यौट हुन नसकेको स्रेस्तेदार राईले बताए ।

प्रमुख जिल्ला न्यायधीश मातृकाप्रसाद आचार्यले उपलव्ध श्रोत, साधन र जनशक्ति, संरचनाबाटै सेवाग्राहीले न्याय पाउने गरी काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस