सामुदायिक साकोसको स्थापना दिवसमा सम्मान, बधाई र रक्तदान

नौलो समाचार संवाददाता
२०८१ माघ १४, सोमबार मा प्रकाशित ९० पटक पढिएको
सामुदायिक साकोसको स्थापना दिवसमा सम्मान, बधाई र रक्तदान

पनौती / पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ३१ औं स्थापना तथा एकीकरण दिवसमा सम्मान, बधाई तथा शुभकामना र रक्तदान गरिएको छ ।

सोमबार केन्द्रीय कार्यालय पनौतीमा आयोजित कार्यक्रममा उत्कृष्ट बचत गर्ने १९ जना, ऋण उत्कृष्ट कारोबार गर्ने १४ जना, कुन्तावेशी सेवा केन्द्र, युवाज्योती सेवाकेन्द्रमा कार्यरत बजार प्रतिनिधी सुजना तामाङलाई उत्कृष्ट कर्मचारीसहित ८० बर्ष नाघेका ३६ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको हो ।

सहकारी संस्थाले बाग्मती प्रदेश सहकारी संघ, बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ, जिल्ला सहकारी संघ, नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, बाग्मती प्रदेश सहकारी संघमा कोषाध्यक्ष निर्वाचित सहकारीका संस्थापक अध्यक्ष एवं सल्लाहकार शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी सघं काभ्रेपलाञ्चोकमा सचिव निर्वाचित सहकारीका निवर्तमान अध्यक्ष प्रकाश बञ्जारा, राष्ट्रिय सहकारी महासंघमा महाप्रबन्धक नियुक्त संस्थाका पूर्व कर्मचारी सुरेश थापा, पूर्व सञ्चालक सदस्यहरुलाई सम्मान गरिएको थियो । सामुदायिक विद्यालय तथा निजी विद्यालयतर्फ आवेदन प्राप्त भएका मध्ये उत्कृष्ट अंक हासिल गर्ने संस्थाका सदस्य तथा परिवार मध्येबाट छात्र तथा छात्रा गरी ४ जनालाई उत्कृष्ट एसईई सम्मान, ३ जनालाई सामुदायिक छात्रवृत्ती समेत प्रदान गरियो । पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता वञ्जारालगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

२०५१ माघ १५ गते ४१ जना शेयर सदस्यको ३२ हजार ५ सय रुपैयाँबाट शुरु भएको सहकारी संस्थामा अहिले ६० हजार ३ सय ६४ शेयर सदस्य र शेयरपुँजी ५२ करोड ११ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिए । उनका अनुसार, काभ्रेका अलावा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र सिन्धुली कार्यक्षेत्र रहेको सहकारीले १७ वटा सहकारीसंग एकिकरण गरेको छ । ६ हजार ५ सय १८ सदस्यलाई ४ अर्व ३६ करोड २९ लाख १६ हजार ऋण लगानी गरेको सहकारी संस्थामा पुष मसान्तसम्म ८६ करोड ६५ लाख ९४ हजार २ सय ४० रुपैयाँ तरलता रकम छ भने कुल सम्पति ६ अर्ब २४ करोड ७१ लाख ८ हजार छ ।

प्रविधिमैत्री बनाउँदै लगेको सहकारीले सदस्यको सुविधाको लागि सामुदायिक स्मार्ट बैंकिङ सेवा, एटिएम, क्यूआर पेमेन्ट (भुक्तानी) साथै कनेक्ट आइपिएसमार्फत बैंकबाट सहकारीमा रकम ट्रान्सफर लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको जानकारी दिइयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र सँगको सहकार्यमा संस्थाका शेयर सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता समेत भएको छ । सम्झौता अनुसार सदस्यहरुले संस्थाको सिफारिसमा निःशुल्क रगत प्राप्त गर्न सक्नेछन् । स्थापना दिवसकै दिन ४५ जनाले रक्तदान गरेका छन् ।

नगर प्रमुख रामशरण भण्डारीले संस्थाले एकीकरण अभियानसँगै सदस्य सेवा र सहकारी सेवालाई उत्कृष्ट पार्दै सहकारीहरुको सिकाईको केन्द्रको रुपमा स्थापित हुन र सहकारीका सिद्धान्त र नीतिलाई पालना गर्दै उत्कृष्ट सहकारीको रुपमा पहिचान कायम राख्न सफल रहोस् भन्ने शुभकामना दिए ।

कार्यक्रममा पनौती नगरपालिका वडा नंं ४ का अध्यक्ष दिपकप्रसाद दाहाल, बागमती प्रदेश सहकारी संघका सचिव देवराज न्यौपाने, जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोकका कार्यवहाक सभापति ज्ञानबहादुर लामा, संस्थाका सल्लाहकार शम्भुलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष प्रकाश बन्जारा, अध्यक्ष मुकुन्द शर्मा वाग्ले, उपाध्यक्ष भवानी थापा, सचिव सरोजकुमार तिमल्सिना लगायतले सहकारी क्षेत्रका विविध पक्षबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस