भकुण्डेवेशी / अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले दुई जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
महिलाको हक र अधिकारको क्षेत्रमा सकृय रहेको भन्दै नगरपालिकाले वडा नं.१० का अध्यक्ष रामकृष्ण उपाध्याय र ३ दशकदेखी पत्रकारितामा संलग्न भगवति तिमल्सिनालाई सम्मान गरेको हो ।
‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारासहित महिला तथा वालवालिका शाखाको आयोजनामा शनिवार भएको ११५ औं अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा नगरप्रमुख कुन्साङ लामा, उपप्रमुख रत्न लामाले उनीहरुलाई सम्मान गरेका थिए ।
नगरप्रमुख लामाले महिलाहरुको समानता, सशक्तिकरण र सम्मानको लागि दिवस विशेष रहेको बताउँदै महिलाहरुलाई आत्मनिर्भर बनाउन र प्रतिभा प्रस्फुटन गर्न नगरपालिका सदैव प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, मानव अधिकारकर्मी भोजराज तिमल्सिना, पत्रकार भगवती तिमल्सिना, कार्यपालिका सदस्य सुशिला परियार, महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख तारा सुनुवार लगायतले दिवस मनाउनुको औचित्य प्रष्टाए ।
सोही कार्यक्रममा दिवसको अवसरमा आयोजना गरीएको वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृत गरियो । प्रतियोगितामा बाल उज्वल माध्यमिक विद्यालयका मनिषा घोरसैनी प्रथम, कृष्ण माध्यमिक विद्यालयका आयुषा सुवाल दोस्रो, अनिता तामाङ तेस्रो र राम माध्यमिक विद्यालयका सचिता अधिकारी चौथो भएका थिए । प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः दस हजार, सात हजार, पाँच हजार र तिन हजार रुपैयाँ नगद र प्रशंसापत्र प्राप्त गरेका छन् ।
कलाकारहरु कृष्ण समिप, कल्पना सुनुवार, कामना वली लगायतले सास्कृति प्रस्तुती दिएका थिए ।
प्रतिक्रिया दिनुहोस