एसइइ परिक्षाका केन्द्राध्यक्षलाई अभिमुखिकरण, परिक्षा मर्यादित बनाउन जोड

नौलो समाचार संवाददाता
२०८१ चैत्र २, आईतबार मा प्रकाशित ७५ पटक पढिएको
एसइइ परिक्षाका केन्द्राध्यक्षलाई अभिमुखिकरण, परिक्षा मर्यादित बनाउन जोड

धुलिखेल / कक्षा १० को माध्यमिक शिक्षा परिक्षा (एसइइ) सञ्चालन हुने केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखिकरण गरिएको छ ।

जिल्ला परिक्षा समितिका पदाधिकारी समेतको उपस्थितीमा शिक्षा विकास तथा समन्वय इकाईले परिक्षाका विभिन्न पक्षबारे केन्द्राध्यक्षलाई जानकारी दिएको हो । साधारण र प्राविधिक धारका बिषयमा चैत ७ देखि १९ गतेसम्म एसइइ हुँदैछ ।

जिल्लाका ३४ परिक्षा केन्द्रमा दुवै धार गरी ६ हजार ३ सय ९१ विद्यार्थी सहभागी हुँदैछन् । साधारणतर्फ ६ हजार १ सय ९५ जना र प्राविधिकतर्फ १ सय ९६ जना छन् ।  नियमिततर्फ ५ हजार ७ सय ८९ र ग्रेडबृद्धिका लागि ६ सय २ जना छन् । सामुदायिक विद्यालयका ४ हजार १ सय ५८ जना  र संस्थागत विद्यालयका २ हजार २ सय ३३ विद्यार्थीले परिक्षा दिने इकाई प्रमुख देवका ढकालले जानकारी दिइन् । अभिमुखिकरणसँगै परिक्षा सामाग्री समेत उपलव्ध गराइएको छ ।

जिल्ला शिक्षा समितिका प्रमुख समेत रहेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले परिक्षा मर्यादित बनाउनु सबैको जिम्मेवारी बताए । उनले विद्यार्थी संख्या कम भएका कारण परिक्षा केन्द्र कटौती हुँदा केही स्थानमा विद्यार्थीलाई समस्या भएको गुनासो आएको बताए ।

परीक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले परीक्षा मर्यादित बनाउनु प्रमुख दायित्व रहेको उल्लेख गर्दै शैक्षिक गुणस्तर बृद्धि नै सबैको चासो रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्काले परिक्षा केन्द्रको बाहिरी सुरक्षामा नेपाल प्रहरी खटिने भन्दै सूरक्षासंग जोडिएका अन्य विषयमा पनि सतर्कता अपनाइने बताइन् ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकालले निर्देशिका अनुसार नै परिक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई अनुरोध गरिन् ।

प्रतिक्रिया दिनुहोस