बनेपा / काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको छ ।
नेकपा एमाले निकट अनेरास्वियु र नेकपा (माओवादी केन्द्र) अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्वियुका मिलन गौतमलाई १ सय ५३ को भारी मतले हराउँदै सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार रोहिन पराजुली निर्वाचित भएका हुन् । पराजुलीले २ सय ७२ मत र गौतमले १ सय १९ मत ल्याएका थिए ।
कुल ५ सय ४१ मत मध्ये ३ सय ९६ मत खसेको थियो ।
सचिवमा नेविसंघकौ तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्वियूका सन्ध्या गिरी र सुनिता गुँइत निर्वाचित भएका छन् । काभ्रे क्याम्पसमा नेविसंघ र अनेरास्वियूले गठबन्धन गरेको थियो ।
जिल्लाका अन्य १५ वटा क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी (अनेरास्वियु क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र अखिल समाजवादी विच नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस