गुरागाईंलाई रोटरी पत्रकारिता र डा. मनोजलाई स्वास्थ्य सम्मान प्रदान गरिने

नौलो समाचार संवाददाता
२०८१ चैत्र ५, बुधबार मा प्रकाशित ४४ पटक पढिएको
गुरागाईंलाई रोटरी पत्रकारिता र डा. मनोजलाई स्वास्थ्य सम्मान प्रदान गरिने

पनौती/ रोटरी क्लब पनौतीले रोटरी पत्रकारिता र स्वास्थ्य सम्मान घोषणा गरेको छ ।

संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका रोटरियन प्रा.डा. सुमनराज ताम्राकारले स्वर्गवासी आमा–बुबाको स्मरणमा स्थापना गरेको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ तथा ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ को पाउने व्यक्तित्वहरुको स्थापना दिवस (चार्टर डे) कै अवसरमा घोषणा गरिएको हो ।

दोस्रो पटक प्रदान गर्न लागिएको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ बाट क्रियाशील एवं अग्रज पत्रकार मधुसुधन गुरागाईं र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट केयु स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा. मनोज हुमागाईंलाई सम्मान गरिनेछ । दुवै सम्मान काभ्रेका वा काभ्रेलाई कर्मथलो बनाई उम्दा काम गर्ने सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई दिईने उल्लेख छ ।

यस अघि ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ बाट काभ्रे टाइम्स साप्ताहिक र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट केयु स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्रप्रसाद कोजू सम्मानित भइसकेका छन् ।

दुबै सम्मानको राशी ५/५ हजार रुपैंया र सम्मान पत्र रहेको छ । सम्मानित हुने व्यक्ति वा संस्थाको छनौटका लागि क्लब अध्यक्षसहितको तीन/तीन सदस्यीय अलग–अलग समिति बनाई निर्णय गरिएको थियो। दुवै सम्मान क्लबको वर्ष २०२५/२६ को पदस्थापना समारोहमा प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस