धुलिखेल / मुखको सरसफाईमा हेलचेक्राइ गर्दा हृदयघात, अलजामर्स र निमोनियाको जोखिम हुन सक्ने तथ्य प्रस्तुत गरिएको छ ।
जनस्वास्थ्य कार्यलय काभ्रेपलाञ्चोकले सञ्चारकर्मी र सरोकारवालासंग गरेको अन्तरक्रिया दन्त चिकित्सक डा. दिपा आचार्यले मुख स्वस्थ नहुँदा हुन सक्ने जोखिमबारे जानकारी गराएकी हुन् । उनका अनुसार, मुख स्वस्थ नुहँदा धमनी बन्द भई हृदय घात र स्ट्रोकको जोखिम हुन सक्छ । मुखमा भएका केही कीटाणुहरू फोक्सोमा जाँदा यसले निमोनिया निम्त्याउन सक्ने, पेरियडोन्टाइटिस भनिने गिजाको रोग, अवधि नपुगी बच्चा जन्मिने र कम तौलको बच्चा जन्माउनेसँग जोडिएको हुने उनले जानकारी दिइन् ।
अनुसन्धानले गिजाको रोग भएका मानिसहरूलाई रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गाह्रो हुने देखाएको छ । नियमित दाँतको हेरचाहले मधुमेह नियन्त्रणमा सुधार गर्न सकिने उनले बताइन् । उनका अनुसार, जिन्जिभाइटिस ब्याक्टेरिया मस्तिष्कमा जान सक्ने र मस्तिष्कका कोषहरूको सूजन र विनाश निम्त्याउँछ । यो अल्जाइमर रोगसँग जोडिएको हुन सक्छ ।
मुख स्वास्थ्यको महत्व र समग्र स्वास्थ्यमा यसको प्रभाव बारे आम नागरिकमा जनचेतना जगाउने, रोकथाममा जोड दिनुका साथै स्वस्थ मुख सम्बन्धी अभ्यासहरूलाई प्रवद्र्धन गरेर, नियमित दाँत परिक्षण गरि रोग भार कम गर्ने उद्धेश्यका साथ हरेक बर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाउदै आइरहेको छ । यो बर्षको नारा ‘स्वास्थ मुखः सकारात्मक सोच’ छ ।
मुखको स्वच्छता र आहारसँग सम्बन्धित स्वस्थ व्यवहार अपनाउन प्रेरित गर्ने, मुख स्वस्थ्य सम्बन्धी पहल गर्न मुख स्वास्थ्य कर्मी, नीति निर्माता, समुदायका नेताहरु र व्यक्तिहरुलाई एक ठाउमा भेला गरी निवारणका उपायहरुको प्रवर्धन र जरारुकता बढाएर, रोग भार दीर्घकालीन रुपमा कमी गर्न योगदान पुर्याउने उद्धेश्यले दिवस मनाइएको जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिए ।
दाँत किराले खाने, गिजाको सामान्य संगै जटिल समस्या, मुखको क्यान्सर, मुख –दाँतमा चोटपटक, ओठ र तालु चिरिएको मुखका प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएका छन् ।
विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा नेपालमा गरेको अध्ययन अनुसार, १ देखि ९ बर्ष उमेर समुहका ५१ दशमलव २ प्रतिशतमा दाँत किराले खाने रोग छ । ५ बर्ष माथिका ३१ दशमलव ५ प्रतिशतमा यो समस्या छ । १५ बर्ष माथि उमेर समुहका १४ दशमलव ८ प्रतिशतमा जटिल प्रकारको गिजाको रोग छ भने करिब १ लाख जनसंख्यामा ओठ तथा मुखको क्यान्सर छ ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले मुख स्वास्थ्यका तौरतरिका र यसका जोखिमका बारे सचेतना फैलाउन सञ्चार क्षेत्रले भूमिका खेल्ने प्रतिवद्धता जनाए ।
जनस्वास्थ्य कार्यालय काभ्रेका पद्मराज कैनीले एक साथ धेरै जनसंख्यामा स्वास्थ्य सन्देश फैलाउन विश्व मुख स्वास्थ्य दिवसका अवसरमा सञ्चारकर्मी र सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस