धुलिखेल / आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधीमा सम्पादन भएका कामका सन्दर्भमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा कृयाशिल सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गरेको छ ।
जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले चालु आर्थिक बर्षको पुष मसान्तसम्म विभिन्न कार्यक्रम र योजनामा भएका प्रगतिबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए । उनका अनुसार, कार्यालयले ६ महिनाको अवधीमा चालुतर्फ २५ दशमलव ०७ प्रतिशत र पुँजीगततर्फ ७ दशमलव ४० प्रतिशत प्रगति गरेको छ ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० बर्षदेखि १४ बर्ष सम्मका किशोरीलाई दिइने पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) खोपमा ९८ दशमलव १७ प्रतिशत लक्ष्य प्राप्त भएको छ । १६ हजार १ सय जनालाई खोप लगाउने लक्ष्य राखिएको मा १५ हजार ८ सय ६ जनालाई खोप लगाइएको कार्यक्रममा जानकारी दिइयो ।
जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपतिले रेविज भ्याक्सिनको व्यवस्थापन, नसर्ने रोगको औषधी व्यवस्थापन, डेंगी रोगको नियन्त्रण तथा व्यवस्थाप चुनौती रहेको भन्दै मानसिक स्वास्थ्य समस्या तथा आत्महत्या न्यूनीकरण कार्यक्रमलाई थप प्राथमिकता दिनुपर्ने बताइन् । उनले स्वास्थ्य सेवा प्रवद्र्धन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सहकार्य अपेक्षा गरिन् ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले सदाझै महासंघ सघाउन तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस