मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसियो

नौलो समाचार संवाददाता
२०८१ चैत्र १०, आईतबार मा प्रकाशित ८८ पटक पढिएको
मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसियो

मण्डनदेउपुर / काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध गाँसिएको छ ।

जापानका लागि नेपालका राजदूत दुर्गा सुवेदीको विशेष सहयोग र समन्वयमा दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको हो । दुई नगरपालिकाबीच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधीहरु आदानप्रदान लगायतका विषयमा समझदारी पनि भएको छ ।

आइतबार फुजिनोमिया नगरपालिकाका नगरप्रमुख हितोतादा सुदोसहित र मण्डनदेउपुर नगर प्रमुख टोकबहादुर वाइबाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

फुजिनोमिया नगरपालिका प्रमुख सुदोले यो सम्बन्ध शुरुवात हुनु आफैंमा एउटा ऐतिहासिक क्षण भएको चर्चा गर्दै आगामी दिनमा दुई नगरपालिकाबीचका विविध आयामहरु थप उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मण्डनदेउपुर नगर प्रमुख वाइवाले जापान जस्तो विकसित देशको नगरसँग भगिनी सम्बन्ध स्थापित हुनु निकै गौरवको विषय भएकोले यहाँका कृषि, पर्यटन, सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक गतिविधीहरु आदानप्रदानका साथै विकासमा थप प्रगति हुने अपेक्षा गरेको बताए । जापानले यसअघि पनि नेपालको विकासमा धेरै सहयोग गरिरहेको चर्चा गर्दै मण्डनदेउपुरको विकासमा यो सम्बन्ध कोशेढुंगा साबित हुने बताए ।

जापानी टोलीलाई स्वागत गर्दै नगर उपप्रमुख विष्णुमणि नेपालले नेपाल र जापानका भौगोलिक र साँस्कृतिकलगायत धेरै रहनसहनहरु मिल्दोजुल्दो रहेको तर्क गर्दै दुई नगरबीचका धेरै क्षेत्रले प्रगति गर्ने आशा गरे ।

२०८१ माघ ६ देखि १४ गतेसम्म मण्डनदेउपुरका जनप्रतिनिधिलगायतको टोली जापान भ्रमणमा गएर भगिनी सम्बन्धको लागि पहल गरेको थियो ।

कार्यक्रममा दुवै देशका साँस्कृतिक गतिविधिहरुप्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस