बनेपामा मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं ६ लाई

नौलो समाचार संवाददाता
२०८१ चैत्र ११, सोमबार मा प्रकाशित ३५ पटक पढिएको
बनेपामा मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं ६ लाई

बनेपा / बनेपा नगरस्तरीय अन्तर वडा मेयर कप फूटबल प्रतियोगिताको उपाधि वडा नं ६ ले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा वडा नं १४ लाई १–० ले पराजित गर्दै वडा नं ६ ले उपाधी जितेको हो । वडा नं ६ का लागि निर्णायक गोल गरेका पारस नेपाल नै म्यान अफ दि म्याच घोषित भए ।

उपाधिसँगै वडा नं ६ ले नगद १ लाख ५ हजार र उपविजेता वडा नं १४ ले नगद ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताभर उत्कृष्ट खेलाडी वडा नं १४ का विरेन्द्र थापा घोषित भए । वडा नं ११ का प्रभात बोगटी उत्कृष्ट डिफेन्स, वडा नं ९ का पुनम आलेमगर उत्कृष्ट मिडफिल्ड घोषित भए । वडा नं ६ का सौगात खत्रीले उत्कृष्ट गोलरक्षकको उपाधी पाउँदा वडा नं ६ कै फुमी केसी उदयमान खेलाडी घोषित भए । २–२ गोलको समान योगदान गरेका रोहन शाही र सुजल राजबाहक सर्वाधिक गोलकर्ता घोषित भए ।


प्रतियोगिताका विजयी टिम, खेलाडी र प्रशिक्षकलाई नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा र वडा नं ९ की कार्यवाहक वडा अध्यक्ष मनिषा तामाङले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितालाई प्राविधिक सहयोग गरेका बनेपा फूटबल एकेडेमी, बनेपा पोलिटेक्निक फूटबल मैदान संरक्षण उपभोक्ता समिति, काभ्रे जिल्ला फूटबल संघ, माउन्ट एभरेष्ट फूटबल क्लव, शिर मेमोरियल अस्पताललाई सम्मान गरिएको थियो ।

अघिल्लो बर्षको बिजेता वडा नं ९ को संयोजनमा भएको प्रतियोगिता आगामी बर्ष वडा नं ६ ले संयोजन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस