बनेपा नगरपालिकाको स्थापना दिवसमा सम्मान नै सम्मान

नौलो समाचार संवाददाता
२०८१ चैत्र १४, बिहिबार मा प्रकाशित ५० पटक पढिएको
बनेपा नगरपालिकाको स्थापना दिवसमा सम्मान नै सम्मान

बनेपा / बनेपा नगरपालिकाले ४४ औं स्थापना दिवसमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

बिहिबार बनेपामा आयोजित कार्यक्रममा हालै काठमाडौ विश्वविद्यालयको उपकुलपति नियुक्त बनेपा वडा नं १२ स्थायी घर भएका प्रा.डा.अच्युतप्रसाद वाग्लेलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बनेपा स्थायी ठेगाना भइ विभिन्न क्षेत्रमा पुरस्कृत १९ जना, कृषि, पशुपालन तथा दुग्ध क्षेत्रमा योगदान दिने १० जना कृषकलाई जनही नगद १० हजारसहित सम्मान गरिएको थियो । वडा कार्यालयहरुमध्ये अभिलेख व्यवस्थापन, सेवा प्रवाह तथा सुशासन र विकास निर्माणका काममा देखिएको कुशलताका आधारमा वडा नं ७ लाई प्रशंसापत्र प्रदान गरिएको थियो । नेपाल गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त चण्डेश्वरी श्रष्टिकान्त माध्यमिक विद्यालयलाई पनि सम्मान गरियो ।

२५ वर्ष सेवा अवधी पुगेका कर्मचारी लक्ष्मी देउजा र विकास खाछिभोयालाई बनेपा दीर्घ सेवा पदक र १५ बर्षअवधी पुगेका कर्मचारी र शिक्षकलाई बनेपा सेवा पदक प्रदान गरियो । सुम्पिएको जिम्मेवारी इमान्दारपुर्वक निर्वाह गर्ने सीता भट्टराई र विश्वनाथ भोक्षिभोयालाई नगद २५ हजार सहित सम्मान गरिएको छ । २०८० चैत्र देखि हालसम्मको अवधीमा अवकाश पाएका १५ शिक्षकलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । माध्यमिक शिक्षा परिक्षा (कक्षा १०) र (कक्षा १२) मा सर्वाधिक सिजिपिए पाउने सामुदायिक र संस्थागततर्फका विद्यार्थीलाई नगद जनही ५ हजारका दरले सम्मान गरिएको थियो ।

बार्षिक रुपमा बहाल कर ५ लाख ७२ लाख ८८ रुपैयाँ तिर्ने बनेपा वडा नं १४ का प्रकाशचन्द्र जोशी र ९ लाख २१ हजार ३ सय मालपोत र व्यवसाय कर तिर्ने बनेपा वडा नं ८ मा रहेको हेस्टर बायो साईन्सेज प्रालिलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरियो ।

उप–प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, संविधानसभा सदस्य समेत रहेका प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, तीर्थ लामा, रुकु चौलागाई, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल लगायतले उनीहरुलाई सम्मान एवं प्रशंसा पत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रधान एवं शहरी विकास मन्त्री सिंहले संविधानसभा बनेको अहिलेको संविधानको विकल्प नभएको बताए । जनताकाको संघर्षबाट प्राप्त उपलब्धी सुरक्षित गर्न संवेदनशिल हुनु नै सबैको हितमा भएको बताउँदै उनले संविधान जारी भएपछि अभ्यासका क्रममा केही कमिकमजोरी छन् भने विधि र प्रक्रियाबाट संशोधन गर्नेबाहेक अरू विकल्प नभएको तर्क गरे ।

कार्यक्रममा संविधान सभा सदस्य समेत रहेका बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, तीर्थ लामा, प्रदेशसभा सदस्य रुकु चौंलागाँई, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख बसुन्धरा खड्का, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, विभिन्न राजनीतिक दलका प्रतिनिधहरु, बनेपा नगर प्रमुख शान्तीरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, पूर्व नगरप्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने लगायतले स्थानीय तहका कामकारबाही र जनचाहनाबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस