धुलिखेल/ विभिन्न ४ अस्पताललाई रोटरी क्लव अफ् धुलिखेलले ३६ थान हेमोडायलासिस मेसिन उपलव्ध गराएको छ ।
जर्मन रोटरी भोलेन्टियर डक्टर्सको सहयोगमा प्राप्त ५ करोड मूल्य बराबारका ती मेसिन धुलिखेल नगरपालिकासंगको सहकार्यमा रोटरी क्लव अफ धुलिखेलले धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, बाँकेको कोहलपुर स्थित कौशल्या मेमोरियल अस्पताललाई १०/१० थान र बर्दघाट स्थित शहिद मेमोरियल अस्पताललाई ६ थान हेमोडायलासिस मेसिन हस्तान्तरण गरिएको रोटरी क्लव अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैंजूले जानकारी दिनुभयो ।
प्रतिनिधी सभा सदस्य विनोद चौधरीको उपस्थितीमा धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ती मेसिन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले धुलिखेल नगरपालिकाको विकासमा प्रथम नगर प्रमुख बेलप्रसाद श्रेष्ठ, नगर प्रमुख अशोककुमार व्याञ्जु लगायतका जनप्रतिनिधी, धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजू श्रेष्ठको योगदानको चर्चा गर्दै सही व्यक्ति नेतृत्वमा पुगे विकास सम्भव हुने चर्चा गरे । आफ्नो निर्वाचन क्षेत्रमा केही पिछडिएको क्षेत्र रहेको उल्लेख गर्दै चौधरीले धुलिखेल नगरपालिका र अस्पतालविच सहकार्यको प्रस्ताव गरे ।
नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले गरिबी निवारणका लागि नगरपालिकाले चालेका कदमको चर्चा गर्दै वातावरणमैत्री शहर निर्माणमा जुटेको बताए ।
धुलिखेल अस्पतालका प्रशासकीय निर्देशकक डा.विराजमान कर्माचार्यले नविनतम कार्यको शुरुवात भएको भन्दै सहयोग र सहकार्यको लागि धुलिखेल अस्पताल सदैव तयार रहेको बताए ।
कार्यक्रममा धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र रोटरी क्लव अफ धुलिखेलविच ब्लड बैक तथा रिसर्च सेन्टर स्थापना तथा धुलिखेल नगरपालिका र रोटरी क्लव अफ धुलिखेलको साझेदारीमा विद्युत्तीय शवदाह गृह निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
रोटरी क्लव अफ धुलिखेलका पुर्व अध्यक्षहरु अशोक श्रेष्ठ, रञ्जिव श्रेष्ठ, सुनिल श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट डा. अनिश जोशीले रोटरीमार्फत भएका सामाजिक सेवाको चर्चा गरेका थिए ।
कार्यक्रममा वर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, बनेपा स्थित शिर मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायर्स, जर्मन रोटरीका डा.क्लाउस लगायतको उपस्थिती थियो ।
प्रतिक्रिया दिनुहोस