राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ काभ्रेले गर्यो विभिन्न कार्यक्रम

नौलो समाचार संवाददाता
२०८१ चैत्र २०, बुधबार मा प्रकाशित १५३ पटक पढिएको
राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ काभ्रेले गर्यो विभिन्न कार्यक्रम

बनेपा / राष्ट्रिय सहकारी दिवस काभ्रेपलाञ्चोकमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

६८ औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ समेतको अवसर पारेर जिल्ला सहकारी संघले विभिन्न कार्यक्रम आयोजना गरेको हो ।

बुधबार संघको कार्यालयमा आयोजित समारोहमा अन्तर सहकारी संस्था फुटसल प्रतियोगिताका विजेता टिमलाई पुरस्कार प्रदान गरियो । फुटसलमा पनौतीका ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था प्रथम, इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्था दोस्रो र रोशी बचत तथा ऋण सहकारी संस्था तेस्रो भएका थिए ।

विजेता टिमलाई बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्यले ट्रफी, नगद र प्रमाणपत्र प्राप्त गरे । प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद प्राप्त गरेका छन् ।

दिवसकै अवसरमा संघको कार्यालय परिसरमा राष्ट्रिय झण्डा र सहकारी झण्डा झण्डोत्तोलन, बृक्षारोपण गरिएको छ । दिवसकै अवसरमा आयोजित रक्तदानमा २६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रहेका संघका सञ्चालक समिति सदस्य पूर्ण सागर रञ्जितले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख शाक्यले नेपाल सहकारीको शुरुवात बनेपाबाट भएका तथ्यहरु सार्वजनिक भइसकेकोले २०८२ साल भदौ १ गते बनेपा नगरपालिकाको अगुवाइमा ८२ औं सहकारी दिवस मनाउन प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपाने, बनेपा वडा नं ७ का अध्यक्ष हिटलर शाक्य, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष दिलीप शर्मा, बागमती प्रदेश सहकारीका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, सहकारी संघ काभ्रेका उपाध्यक्ष शान्ति लामा, सचिव प्रकाश बञ्जारा लगायतले सहकारी इतिहासबारे नयाँ तथ्य स्थापित गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।

जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले जिल्ला सहकारी संघले काभ्रेमा स्थापना भएको सहकारी नेपालकै पहिलो भन्ने अजेण्डा आफ्नो कार्यकालको शुरुवातदेखि नै उठाउदै आएको भन्दै त्यो स्थापित गर्न लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस