दलित वडा महिला सदस्यलाई जातीय विभेद गर्नेलाई कार्वाही माग

नौलो समाचार संवाददाता
२०८१ चैत्र २५, सोमबार मा प्रकाशित २०५ पटक पढिएको
दलित वडा महिला सदस्यलाई जातीय विभेद गर्नेलाई कार्वाही माग

पाँचखाल / नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल दलित संघले पाँचखाल नगरपालिका वडा नं. १३ को दलित वडा महिला सदस्य विमला विश्वकर्मालाई भएको जातीय विभेद गर्नेलाई कार्वाही गर्न  माग गरेको छ ।

नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित विमला पार्टी कार्यालय प्रवेश गर्दा घरधनी यमुना नरालले अपमानित र जातीय विभेद तथा छुवाछूतलाई प्रोत्साहन गर्ने शब्दहरु प्रयोग गरेको भन्दै दलित संघले कारवाही माग गरेको हो । जिल्ला अध्यक्ष उस्पर सुनारले हस्ताक्षर गरेको विज्ञप्ति जारी गरेर दलित सङ्घले दोषीहरु कुनै पनि बाहनामा उम्किन नदिन जोडदार माग गरिएको छ ।

समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले दलितहरुले खेप्नु परिरहेको निकृष्ट प्रकारको व्यवहार खेदजनक भएको भन्दै नेपाल दलित संघ काभ्रे जिल्ला कार्यसमिति यस प्रकारका गतिविधिको सदैव विरोध गर्ने जनाएको छ ।

सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जात-जाति र समुदाय बीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना, अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ राज्यले प्रत्याभूत गराओस भन्दै दलित संघले अन्यथा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएको छ । छुवाछुत प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकता पर्ने भन्दै जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको जघन्य अपराध गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउन राज्य नचुकोस् भन्ने कामना गरिएको छ ।

नेपालको संविधानले कुनै पनि प्रकारको छुवाछुत तथा भेदभावलाई गम्भीर सामाजिक अपराधको रुपमा परिभाषित गरेको छ भने जातिय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ ले दण्ड सजायको समेत व्यवस्था गरेको छ।नेपालको संविधान तथा यस अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रूपमा लिँदै त्यसलाई निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस