फुलबारी / उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानको परिधीभित्र रहन सबैलाई आग्रह गरेका छन् ।
नमोबुद्ध नगरपालिका वडा नं १ को प्रशासकीय भवन, मथुरापाटी स्वास्थ्य चौकी भवन उद्घाटनका साथै बालमैत्री वडा घोषणा समारोहलाई संवोधन गर्दै उपप्रधानमन्त्री सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको खिलापमा गएर केही पनि प्राप्त नहुने भन्दै ज गरेपनि संविधानको परिधिभित्रै रहेर गर्नुपर्ने बताए । ‘संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । चित्त नबुझेको कुरा छन् भने विधि र प्रक्रियाअनुसार राख्न सकिन्छ,’ उनले भने, ‘संविधान संशोधन गर्न सकिन्छ ।’
शहरी विकास मन्त्री रहेका उपप्रधानमन्त्री सिंहले शहरहरू बनाउँदा नागरिकलाई सुविधा दिनुपर्नेमा जोड दिँदै संघियतापछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य काम भएको र सेवा प्रभावकारी बनाउनुपर्ने बताए ।
स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिलाई सेवा गर्छ भनेरै जनताले मत दिएको भन्दै राजनीतिलाई सेवाभावको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । प्राकृतिक रूपमा सुन्दर र पर्यटकीय हिसावले महत्वपुर्ण नमोबुद्द नगरपालिकाको विकासम शहरी विकास मन्त्रालयबाट हुने काममा आफूले सहयोग गर्ने पहल गर्ने उपप्रधानमन्त्री सिंहले प्रतिवद्दता जनाए ।
उपप्रधानमन्त्री सिंहले वडा न. १ को प्रशासनिक भवनका साथै मथुरापाटी स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्धघाटन गरेका थिए ।
कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं १ का सांसद सुर्यमान दोङ, पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य कञ्चनचन्द्रबादे श्रेष्ठ, तीर्थ लामा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, नगर प्रमुख कुनसाङ लामा,उपप्रमुख रत्नबहादुर लामा, शहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडाअध्यक्ष प्रेमबहादुर तामाङ लगायतले नगरको पूर्वाधार विकासको लागि संघीय सरकारको साथ र सहयोगको अपेक्षा गरेका थिए ।
वडा नं १ मा पूर्वाधार निर्माणको लागि सहयोग गर्ने स्थानीय समेत रहेका शहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, पदम मैनाली, इञ्जिनियर उज्जवल अर्याल,सव-इञ्जिनियर रामप्रसाद दाहाल, निर्माण व्यवसायी लगायतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस